धुर्मुश सन्तुली फाउन्डेसनले चितवनको भरतपुरमा बनाउने घोषणा गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत गुरु योजना (डिपिआर) तयार भएको छ।
फाउन्डेसन थप सुझावका लागि बुधबार भरतपुर महानगरपालिकाको कार्यालयमा राजनितिक दल, सांसद,स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,उधोगी व्यवसायीहरु,विषय उपस्थितिमा गुरुयोजना प्रस्तुत गरेको छ।
डिपिआर सम्बन्धित मन्त्रालय, खेलकुद परिषद, नेपाल क्रिकेट संघमा समेत प्रस्तुत गर्ने फाउन्डेसनले जनाएको छ।
रंगशाला निर्माणको लागि गठित प्राविधिक समितिको निर्देशनमा क्रियटिभ डिजाइन आर्किटेक प्रालिको नेतृत्वमा इन्डियन र अमेरिकन कन्सलटेन्सिको सहकार्यमा डिपिआर तयार भएको फाउन्डेसनले जनाएको छ।
यसअघि गत माघमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन सम्झौता भएको थियो।
नेपालको मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुने र क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुने बताइएको छ।
रंगशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
यसअघि गत जेठमा गशाला बनाउन लगाएको तारबार स्थानीयले डोजर लगाएर भत्काइदिएका थिए। स्थानीय बासिन्दाले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई आग्रह गरेका थिए।
फाउन्डेसनले रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आउन बाँकी रहेकोले डिपिआर आएपछि कुरा गर्ने बताएको थियो। पछि सहमती जुटेपछि रंगशालाको काम अघि बढेको थियो।