नेदरल्यान्ड्सले आइसिसी टी–२० विश्वकप छनोटको उपाधि जितेको छ।
शनिबार राति दुबईमा भएको उपाधि भिडन्तमा नेदरल्यान्ड्सले पपुवा न्युगिनी (पिएनजी) माथि ७ विकेटको जित निकालेर छनोटको च्याम्पियन बनेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन मात्र जोड्न सक्यो।
पिएनजीका लागि लेगा सिएकाले सबैभन्दा बढी ३९ रन जोडे।
बलिङमा नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरले ३ विकेट तथा भान मार्वी र भान टेरले २–२ विकेट हात पारे।
१२९ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा १९ ओभरमा पार गर्यो।
नेदरल्यान्ड्सका लागि बेन कुपरले ४१ रन जोड्दा रायन टेन डोटेक्सले नटआउट ३४ र अरमनले नटआउट २९ रनको योगदान दिए।
नेदरल्यान्डका ग्लोभर म्यान अफ दि म्याच र नामिबियाका जेराल्ड इरामस म्यान अफ दि सिरिज भए।
यता तेस्रो स्थानका लागि भएको खेलमा आयरल्यान्डले नामिबियालाई २७ रनले हराएको छ।
६ टिम विश्वकपका लागि छनोट
आगामी वर्ष अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपका लागि ६ टिमले छनोट चरण पार गरेर स्थान पक्का गरेका छन्।
युएईमा भइरहेको छनोटमार्फत पपुवा न्युगिनी (पिएनजी), आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड र ओमानले टी–२० विश्वकपमा स्थान बनाएका हुन्।
१४ टिमबीच युएईमा छनोट पार गरेर पुगेका ६ टिम तथा बंगलादेश र श्रीलंकाबीच टी–२० विश्वकपको समूह चरणमा प्रतिस्पर्धा हुनेछ। ४–४ टिमबीच हुने समूह चरणबाट २–२ टिम सुपर–१२ मा पुग्नेछन्।
यसअघि सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम टी–२० विश्वकपका लागि छनोट भएका थिए।
पाकिस्तान, भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगातिस्तान वरीयताको शीर्ष ८ मा पर्दै सुपर–१२ का लागि सिधै छनोट भएका थिए।
पूर्व च्याम्पियन श्रीलंका र दशौं वरीयताको बंगलादेश टी–२० विश्वकपका लागि छनोट भए पनि दुवैले समूह चरणमा छनोट प्रतियोगिताबाट आएका ६ टिमसँग खेल्नु पर्नेछ।
विश्वकपमा पुगेका १६ टिम
पाकिस्तान, भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगातिस्तान, श्रीलंका, बंगलादेश, पपुवा न्युगिनी (पिएनजी), आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड र ओमान