वाइवाइ ग्रेट हिमालय क्रिकेट ऐकेडेमिको आयोजनमा पुस १९ देखि माग ४ गतेसम्म काठमाडौंको मुलपानी क्रिकेट मैदानमा दोस्रो हिमालय क्रिकेट लिग दुईदिवसिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
१९ वर्ष मुनिका युवाहरुलाई लामो फम्र्याटको खेलको अनुभव दिलाउदै भविष्यका लागि तयार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो। दुईदिवसीय ढाँचामा आयोजना हुने लिगमा देश भरिका ६ वटा उत्कृष्ट क्लब र ऐकेडेमीले लिग खेल खेल्नेछन्।
६ टिमलाई दुईवटा समूहमा विभाजन गरी प्रत्येक टिमले न्यूनतम दुई वटा दुईदिवसीय खेल खेल्नेछन् र समूह विजेता दुई टिमले फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन्। सेतो लुगा र रातो बलवाट हुन गइरहेको यो नीजि क्षेत्रबाट आयोजना गरिएको देशकै पहिलो दुई इनिङकोे प्रतियोगिता भएको दाबी गरिएको छ।
प्रतियोगिताको कुल खर्च ५० लाख रुपैयाँ रहेको छ। विजेता, उप–विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिहरुलाई नगद पुरस्कार सहित ट्रफी, मेडल प्रदान गरिनेछ। साथै हरेक दिन उपत्यकका फरक–फरक विद्यालयका विद्यार्थीहरुलाई, विद्यालयहरुसगँको सहकार्यमा मैदानमा निमन्त्रणा गरि क्रिकेट खेलको यस प्रतियोगितालाई हेर्ने अवसर प्रदान गरिनेछ।
यसअघि २०७२ सालमा यस प्रतियोगिताको पहिलो संस्करण ५० ओभरको एकदिवसिय ढाँचामा काठमाडौँको टुडीखेलमा काठमाडौँ क्रिकेट लिगको नाममा आयोजना गरिएको थियो। जसमा धनगढी क्रिकेट एकेडेमि विजेता भएको थियो। सोहि प्रतियोगितालाई नयाँ नामाकरण गरि यस वर्ष देखि हिमायन क्रिकेट लिगको दुई दिने आयोजना गर्न लागिएको हो।