पोखरा प्रिमियर लिग (पिपिएल) को गत संस्करणमा विराटनगर टाइटन्स समूह चरणमा अन्तिम भएको थियो।
त्यतिबेला विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरेका थिए। दोस्रो संस्करणमा विराटनगरको कप्तानी प्रदीप ऐरीलाई दिइयो। ऐरीको कप्तानीमा विराटनगरले सुरुवाती चार मध्ये खेल एक खेलमा मात्र जित निकाल्न सक्यो।
अन्तिम खेलमा गर या मरको अवस्थामा बुटवल ब्लास्टर्सलाई पराजित गरेपछि विराटनगरले प्लेअफमा स्थान पक्का गर्यो। सो खेलमा विराटनगरले प्लेअफमा पुग्न १२ ओभर भित्र पूरा गर्नु पर्ने लक्ष्य ११.४ ओभरमै पछ्याएर सनसनीपूर्ण जित निकाल्यो।
प्लेअफमा पनि विराटनगरले उत्कृष्ट खेल्यो। बुटवललाई नै २१ रनले हराएर पहिलो पटक फाइनलमा स्थान बनायो।
प्रदीप तथा विराटनगरले पहिलो उपाधिका जित्नका लागि शनिबार पोखरा क्रिकेट मैदानमा चितवन राइनोजसँग खेल्दैछ। फ्रेञ्चाइज क्रिकेटको कप्तनीमा डेब्यू गरेका प्रदीपको प्रतिस्पर्धा अनुभवी कप्तान पारस खड्काको टिमसँग हुनेछ।
जारी प्रतियोगितामा चितवनले कुनै खेल हार्नु परेको छैन। समूहका पाँचै खेल जितेर फाइनल स्थान पक्का गरेको चितवन उपाधि नजिति रोकिने अवस्थामा छैन।
किनभने चितवनले अघिल्लो वर्ष पनि फाइनलमा स्थान बनाएको थियो। तर फाइनलमा पोखरासँग पराजित हुँदा चितवनको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेको थिएन।
त्यसैले चितवनका कप्तान पारस समूह चरणमा राम्रो नतिजा ल्याए पनि आफूहरु फाइनलमै केन्द्रित हुने बताउँछन्।
'हामीले फाइनलसम्ममा राम्रो क्रिकेट खेलेका छौं। सबै खेलाडीले जिम्मेवारी र योजनाअनुसार फाइनलमा पनि खेल्ने विश्वास छ,' पारसले भने, 'विराटनगरले पनि राम्रो खेलेर फाइनल पुगेको हो। त्यसैले हामी ढुक्क छैनौ। हामीलाई फाइनलमा पनि राम्रो क्रिकेट खेल्ने चुनौती छ।'
चितवनको टिममा युएईका कप्तान रोहन मुस्ताफासहित हङकङको राष्ट्रिय टिमबाट खेलिसकेका बाबर हायत तथा भारतका सनी पटेल जस्ता उत्कृष्ट विदेशी खेलाडी छन्। उनीहरुको साथले टिममा साकारात्मक असर गरेको पारसको भनाइ छ। यद्यपी नेपाली खेलाडीहरुले पनि राम्रो खेलेको पारस बताउँछन्।
'सबैले राम्रो विदेशी खेलाडी ल्याएका छन्। उनीहरुले राम्रो खेलिरहेका पनि छन्। नेपालका खेलाडी पनि अहिले राम्रो प्रदर्शन गरेका छन्। जुन भविष्यका लागि राम्रो संकेत हो,' पारसले भने।
विराटनगरका कप्तान प्रदीप पनि फाइनलमा पछिल्ला खेलमा देखाएको लय कायम राख्ने बताउँछन्।
'प्रतिद्वन्द्वी राम्रो छ। हामीले पनि पछिल्ला खेलमा राम्रो खेलेका छौं। यहि लय कायम राख्छौं,' उनले भने,'फाइनलमा कम गल्ति गर्ने प्रयास गर्नेछौं। किनकी जुन टिमले कम गल्ति गर्छ त्यसैले खेल जित्नेछ।'