चितवन राइनोजले पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि जितेको छ।
शनिबार पोखरा क्रिकेट रंगशालामा भएको फाइनल भिडन्तमा चितवनले विराटनगर टाइटन्सलाई ३२ रन पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।
यसअघि पहिलो संस्करणमा चितवन उपविजेतामै सीमित बनेको थियो। त्यतिबेला चितवनलाई पोखरा पल्टनले पराजित गरेको थियो।
शनिबार चितवनले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन मात्र जोड्न सक्यो।
विराटनगरका लागि मोहमद जायद अलामले सबैभन्दा बढी ५७ रन जोडे। उनले ४८ बलमा ५ चौका र ३ छक्का हिर्काए।
अर्का ओपनर सुनील धमला ४ रन र लोकेश बम १ रनमै आउट भए। नोमन खान १८ बलमा रनआउट हुँदा कप्तान प्रदीप ऐरीले ३६ रन जोडे। उनले २५ बलमा ३ चौका र १ छक्का हिर्काए।
पुनित मेहराले १३ बलमा ३२ रन जोड्दा विराटनगरका अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा चितवनका करण केसीले ३ विकेट लिए भने सनी पटेलले २ विकेट हात पारे। रोहन मुस्ताफाको नाममा १ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा २०२ रन जोड्यो।
पिपिएलको दोस्रो संस्करणमा यो दोस्रो ठूलो स्कोर हो। यसअघि काठमाडौं गोल्डेन्स वारियर्सले २०३ रन जोडेको थियो।
चितवनका लागि अनिलकुमार साह र रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे।
अनिलले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने मुस्ताफाले ४३ बलमा ३ चौका र १ छक्का हिर्काए।
त्यसअघि कप्तान पारस खड्का ११ बलमा ४ चौका र १ छक्काको मद्दतमा २५ रनमा आउट भए भने बाबर हायतले ५ रन मात्र जोड्न सके।
आरिफ शेखले ११ बलमा १ चौका र २ छक्काको मद्दतमा १९ रन बटुले। करण केसीले ८ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट २६ रन र सनी पटेलले ८ बलमा नटआउट १६ रन बटुले।
बलिङमा विराटनगरका पुनित मेहरा र मोहमद जाइद आलामले २-२ विकेट लिए। किशोर महतोको नाममा १ विकेट रह्यो।