पोखरा प्रिमियर लिग (पिपिएल) को शनिबार भएको फाइनल भिडन्तमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै उपाधि जित्यो।
चितवनले दिएको २०३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १७० रन मात्र जोड्न सक्यो।
पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा चितवनका बिक्रम शोवले अन्तिम बल फ्याँकेका थिए। जसमा विराटनगरका जितेन्द्र मुखियाले चौका प्रहार गरे।
अन्तिम बल चौका भए पनि खेल चितवनको पक्षमा गयो। जब जितेन्द्रले चौका प्रहार गरे तब चितवनका दुई समर्थक दौडिएर मैदान भित्र प्रवेश गरेका थिए।
जसमध्ये राष्ट्रिय टिमको जर्सी लगाएका एक समर्थक दौडिएर चितवनका कप्तान पारस खड्का नजिक पुगेका थिए।
उनले नजिक पुगेर घुँडा भुइमा टेक्दै पारसलाई ढोक्न खोजेका थिए। तर पारसले पर सार्दै अप्ठ्यारो मानेका थिए।
पछि ती समर्थकले पारसको खुट्टामा छोएका थिए।
त्यसपछि पारसलाई अगाँलो हालेका तीन समर्थकलाई आयोजकले मैदान बाहिर निकालेका थिए। मैदान बाहिर निस्किरहदा ती समर्थकले खुसीमा रोएको प्रष्ट देखिन्थ्यो। मैदान छिरेका ती समर्थकले राष्ट्रिय टिमका पूर्व कप्तान पारसले लगाउने राष्ट्रिय जर्सी लगाएका थिए।