अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्सले तेस्रो जित हात पारेको छ।
वर्षाले प्रभावित खेलमा मेलवर्नले होबर्ट हुरिकेन्सलाई ४ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको हुरिकेन्सले ११ ओभरमा ५ विकेटको क्षतिमा ६९ रन बनाएको थियो। त्यसपछि वर्षाले खेल अवरुद्ध बनेको थियो। ११ ओभर सम्ममा सन्दीपले २ ओभर बलिङ गर्दा विकेट लिन सकेका थिएनन्। सन्दीपले २ ओभरमा कुनै बाउन्ड्री नदिँदा ११ रन दिएका थिए। काउटर निल र डेल स्टेनले भने २-२ विकेट लिएका थिए।
१० ओभरमा ८० रनको नयाँ लक्ष्य पाएको मेलवर्नले ७.३ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन जोड्दा फेरि खेल वर्षाले रोकिएको थियो। त्यसपछि मेलवर्न डिएल मेथडमा अघि रहदै ४ रनले विजयी भयो।