भारतमा क्रिकेटप्रतिको मानिसहरूको लगाव अभूतपूर्व छ। यसप्रतिको लगावलाई ब्राजिलियनहरूको फुटबलप्रतिको लगाव जस्तो छ, त्यस्तै भन्दा फरक पर्दैन।
यसले भारतले क्रिकेटमा पाउने हार र जितले खेलाडीलाई कतिखेर हिरो र कतिखेर भिलेन बनाउँछ थाहा हुँदैन। अझ त्यसमाथि भारत र पाकिस्तानबिचको खेलको त कुरै बेग्लै हुन्छ।
यी दुईको खेलमा आउने नतिजाको त रौ,रौ केलाउने गरिन्छ। यदी कसैको त्रुटिले खेल हारेमा त्यो खेलाडीका लागि आलोचनाको सुनामी तयार भइसक्छ। भलै उसका अघिल्ला सफलता जतिसुकै गतिला हुन।
त्यस्तै एक भारतीय बलरको आज जन्मदिन हो।
उनले विश्वकपमा पहिलो ह्याट्रिक लिएर कीर्तिमान बनाए भने थुप्रै अवसरमा भारतलाई खेल जिताए तर एक खेलका कारण उनलाई भारतीय क्रिकेट प्रशंसकको नजरमा भिलेन बनाइदियो जसले आजसम्म उनलाई पछ्याइरहेको छ।
यसरी भिलेन बनेका बलर हुन्- चेतन शर्मा।
शर्माले १८ वर्षको उमेरमा भारतीय टोलीबाट डेब्यु गरेका थिए।
सन् १९८६ मा भारतले बेलायतमा भएको एजबेस्टन टेस्ट म्याचमा उनले १० विकेट लिएका थिए। त्यसको एक वर्ष पछि भारतमा भएको विश्वकपमा ह्याट्रिक लिए। यसले उनी विश्वकप क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो बलर बने।
ह्याट्रिक लिने र शतक हान्ने विरलै बलरहरूमा उनी पर्छन्।
तर सन् १९८६ अप्रिल १८ तारिखमा अष्ट्रेलिया कपमा पाकिस्तानविरुद्धको फाइनल खेलमा गरेको बलिङ्ले उनलाई भारतीय क्रिकेटप्रेमीको आँखामा खलनायक बनाइदियो।
सो खेलमा भारतले पहिले ब्याटिङ गरेर सात विकेट गुमाइ २४५ बनाएको थियो। त्यसपछि जवाफी ब्याटिङमा आएको पाकिस्तानले ४९.५ ओभरमा २४२ रन बनायो र खेल रोचक मोडमा पुग्यो। सो अवस्थामा भारतलाई पराजित गर्न पाकिस्तानलाई एक बलमा ४ रन आवश्यक थियो।
यस महत्वपूर्ण मोडमा भारतको तर्फबाट चेतन शर्मा बलिङमा थियो भने उता पाकिस्तानको ब्याटिङमा ११० रनसहित जावेद मियाँदाद थिए।
विकेट लिदां चेतन भारतमा हिरो हुने र आवस्यक रन जोड्दा मियाँदाद पाकिस्तानमा हिरो हुने अवस्थामा खेल थियो।
चेतनले बलिङ गरे।
सो बललाई मियाँदादले छक्का हान्दै कपमाथि कब्जा जमाए।
उता मियाँदाद हिरो भए भने यता शर्मा हारका सबैभन्दा ठूला भिलेन। यस घटनाको दाग उनीमाथि अझै लागिरहेको छ।
यसका बाबजुद उनी क्रिकेटका राम्रा भारतिय बलरमध्येका एक हुन्। उनै शर्माका क्रिकेट यात्राका पाँच तथ्य यस्ता छन्
१. चेतनले १८ वर्ष २८८ दिनको उमेरमा टेस्ट म्याचमा डेब्यु गरेका थिए। उनी त्यसबेला टेष्ट म्याचमा डेब्यु गर्ने सबै भन्दा कम उमेरका फास्ट बलर थिए। उनको सो रेकर्ड २३ वर्ष पछि इशान्त शर्माले तोडेका थिए। उनले सन् २००७ मा १८ वर्ष २६५ दिनमा डेब्यु गरेका थिए।
२. चेतन शर्माले सन् १९८६ मा बर्मिङमा बेलायत विरुद्धको टेष्ट म्याचमा १० विकेट लिएका थिए। यो रेकर्ड आज सम्म पनि टुटेको छैन। चेतनले सो खेलको पहिलो इनिङमा चार विकेट लिएका थिए भने दोस्रो इनिङमा १० विकेट लिएका थिए। सो म्याच बराबरीमा सकिएको थियो।
३. सन् १९८७ मा भएको विश्वकपमा चेतनले न्युजिल्याण्ड विरुद्ध ह्याट्रिक लिएका थिए। उनले उक्त खेलमा केन रदरफोर्ड, इयान स्मिथ र इवान चैटफिल्डलाई लगातार तीन बलमा बोल्ड गरेका थिए। यसरी विश्वकपमा विकेट लिने उनी पहिलो बलर बनेका थिए। साथै तीनवटै विकेटमा बोल्ड गर्ने पहिलो व्यक्ति समेत बने।
४. सन् १९८९ मा बेलायत विरुद्ध चेतनले शतक प्रहार गरेका थिए। २५ अक्टोबरमा कानपुरमा भएको एक दिवशीय खेलमा बेलायतले सात विकेटमा २५५ रन बनाएको थियो। जवाफमा भारतले ४८.१ ओभरमा चार विकेटमा २५९ रन बनाएर जीत हासिल गरेका थियो। उक्त म्याचको म्यान अफ ड म्याच चेतन बनेका थिए। त्यसबेला उनले १०१ रन बनाएका थिए।
५. चेतन शर्मा अरु भन्दा साना थिए तर फास्ट बलर थिए। अरु भन्दा फरक शरिर भएकै कारण केहीले उनलाई क्रिकेटमा धेरै नटिक्ने बताएका थिए। तर पनि उनको र कपिलदेवको जोडी पाँच वर्षसम्म जम्यो। उनले श्रीलंका, बेलायत र वेस्ट इन्डिज विरुद्ध राम्रो प्रदर्शन गरी आलोचकलाई जवाफ फर्काएका थिए।