माघ तेस्रो सातादेखि हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण शुक्रबारदेखि सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको बोर्ड बैठकले शुक्रबारदेखि पोखरामा बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले सेतोपाटीलाई जानकारी दिए।
यसअघि पोखरा प्रिमियर लिग (पिपिएल) आयोजना भएको पोखरा क्रिकेट मैदानमा बन्द प्रशिक्षण हुनेछ।
राष्ट्रिय टिमको व्यवस्थापकमा केन्द्रिय सदस्य ऋषिराम गौतमलाई नियुक्त गर्ने क्यानले निर्णय गरेको छ।
यस्तै आइसिसी र क्यानबीच भएको बैठकको विषयमा पनि बोर्डलाई जानकारी दिइएको सचिव प्याकुरेलले बताए।
बैठकमा माघ तेस्रो साता कीर्तिपुरस्थित टियू मैदानमा हुने त्रिकोणात्मक सिरिजको व्यवस्थान कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको छ।
बैठकले ५ सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरेको छ। समितिमा क्यानका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य अमितविर पाण्डे रहेका छन्।
बैठकमा प्रतियोगिताका संयोजक प्रशान्तविक्रम मल्लले प्रतियोगिताबारे तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए। मल्ललाई यसअघि प्रतियोगिताको संयोजक तोक्दै प्रतिवेदन बनाउने जिम्मेवारी दिइएको थियो।