मनमोहन मेमोरियल (एमएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका स्पिनर सुसन भारीले ह्याट्रिकसहित ७ विकेट लिएका छन्।
मंगलबार इनरुवामा भएको खेलमा सुसनले आयोजक मनमोहन मेमोरिय क्रिकेट टिमविरुद्ध उत्कृष्ट बलिङ गरेका हुन्।
टस जितेर पहिले ब्याटिङ गरेको मनमोहनविरुद्ध सुसनले आठौं ओभरमा ह्याट्रिक गरेका थिए। उनले यो ओभरमा ह्याट्रिकसहित चार विकेट लिए।
आठौं ओभरको दोस्रो बलमा सुसनले मनमोहनका सुशान्त तिमिल्सिनालाई कुशल मल्लबाट क्याच आउट गरे। तेस्रो बलमा अल्फाज मन्सुरीलाई पनि आफैले क्याच गरेर पेभिलियनको बाटो देखाए। चौथो बलमा सरोज बस्नेतलाई एलबिडब्लूको धरापमा पारेपछि ह्याट्रिक गरे। यो ओभरको सुसनले राकेश सोनीलाई बोल्ड गर्दा गर्दा ४ विकेट लिएर रन दिएनन्।
त्यसअघि सुसनले छैटौं ओभरमा मनमोहनका रवि रोयलाई एलबिडब्लू र विवेक मेहेतालाई पनि क्याच आउट गरेका थिए।
सुसनले सातौं विकेटको रुपमा भुपाल लुइटेललाई २०औं ओभरमा आउट गरेका थिए।
सुसनले ८.३ ओभरमा ७ विकेट लिँदा १६ रन खर्चिए। त्यसक्रममा उनले तीन ओभर मेडन राखेका थिए।
सुसनबाहेक आर्मीका लागि हरि चौहानले २ विकेट र साहब अलामले १ विकेट लिए।
आर्मीको धारिलो बलिङसामू निरिह देखिएको मनमोहन १९.३ ओभरमा ५६ रनमा अलआउट भयो। मनमोहनका लागि ओपनर सुशान्त तिमिल्सिनाले सबैभन्दा बढी १५ रन जोडे।
५७ रनको झिनो लक्ष्य आर्मीले बिनाविकेटको क्षतिमा ५ ओभरमै पूरा गरेर १० विकेटको जित निकाल्यो। आर्मीको जितमा कुशल मल्लले १९ बलमा नटआउट ३५ रन र हरिकृष्ण झाले ११ बलमा नटआउट २० रन जोडे।
जितसँगै आर्मी अघिल्लो चरणमा पुगेको छ। यसअघि आर्मीले पहिलो खेलमा सशस्त्रलाई हराएको थियो।