नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण गत शुक्रबारदेखि पोखरामा सुरु गर्ने निर्णय गरेको थियो।
तर क्यानले बन्द प्रशिक्षणमा सहभागी हुने २४ खेलाडीको नाम शुक्रबार बेलुकी मात्र सार्वजनिक गर्यो।
क्यान आफैले खेलाडीको नाम ढिलो सार्वजनिक गर्दा तोकिएको मितिदेखि प्रशिक्षण सुरु हुन सक्ने स्थिति नै रहेन। शुक्रबारदेखि तोकिएको प्रशिक्षण अहिले पनि पूर्णरुपमा सञ्चालन हुन सकेको छैन।
लिग-२ अन्तर्गत आगामी माघ २२ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुँदैछ। सिरिजमा ६ वटा एकदिवसीय खेल हुनेछन्। जसमा प्रत्येक टिमले ४-४ वटा एकदिवसीय खेल खेल्नेछन्।
सन् २०२३ को विश्वकप छनोटको रुपमा रहेको लिग-२ मा नेपाल, अमेरिका र ओमानसहित स्कटल्यान्ड, युएई, पपुवा न्युगिनी र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ। नेपालबाहेक अरु सबै टिमले सुरुवाती खेलिसकेका छन्। घरेलु मैदानबाट लिग-२ को सुरुवात गर्न लागेको नेपालका लागि पहिलो सिरिज महत्वपूर्ण छ।
महत्वपूर्ण सिरिजका लागि कप्तान ज्ञानेन्द्र मल्लसहितका एक दर्जन खेलाडीले काठमाडौंमा जिम सेसन गरेका थिए। उनीहरु दुई दिन अघि पोखरामा पुगेका छन्।
घर बिदामा भारत गएका राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक अझै नेपाल आइपुगेका छैनन्। पटवालले आफ्नो पासपोर्ट सम्बन्धि काम भएकाले १५ तारिकसम्म नेपाल आउने भन्दै क्यानलाई इमेल पठाएका थिए।
मासिक ७ हजार डलर तलबमा पाउने पटवालले २०२० को जुन १० सम्मका नेपाली टिम हेर्ने सम्झौता छ।
पटवाल समयमै उपलब्ध हुन नसक्ने भएपछि अहिले जगत टमाटाले नेपाली टिम हेरिरहेका छन्। टमाटाले पटवाल नआउन्जेल आफूले टिम हेरिरहेको सेतोपाटीलाई बताए।
टमटाका अनुसार राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा अहिले दुई दर्जन खेलाडी छन्।
सबै खेलाडी उपलब्ध नहुँदा सोचे जस्तो तयारी गर्न नसकेकोमा क्यान सन्तुष्ट छैन।
'प्रशिक्षक पटवालले जनावरी १५ तारिकसम्म आउने बताउनु भएको थियो। तर पछिल्लो समय उहाँले केहि जानकारी दिनु भएको छैन,' क्यानका सचिव अशोकनाथ प्याकुर्यालले भने।
तर पनि खेलाडीले निरन्तर क्रिकेट खेलेकाले टिमको प्रदर्शनमै असर नगर्ने क्यानको विश्वास छ।
'खेलाडीहरुले पिपिएल र मनमोहन मेमोरियल एकदिवसीय प्रतियोगिता खेलेका छन्। निरन्तर क्रिकेट खेलिरहेकाले प्रशिक्षणबाट थप निर्खाने प्रयास गर्छौं,' सचिव प्याकुर्यालले भने,'प्रतियोगिता आउन अब तीन साता पनि छैन। प्रशिक्षणसहिका सबै कामको दबाब छ।'
प्याकुरेलले पोखरामा बन्द प्रशिक्षण सोमबारदेखि सुरु भएको दाबी गरे पनि 'फुल फ्लेज'को प्रशिक्षण भने अझै भएको छैन।
प्रशिक्षणका लागि सुनसरीको इनरुवामा भइरहेको मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका खेलाडी अझै पुगेका छैनन्।
आर्मीका विनोद भण्डारी, सुशन भारी, कुशल मल्ल, रोहितकुमार पौडेल, प्रदेश ३ का सुवास खकुरेल, पुलिसका सुनील धमला, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, कुशल भुर्तेल र लतिनारायण राजवंशीले मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट खेलिरहेका छन्। यस्तै सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग ब्यास लिग खेलिरहेका छन्।
नेपालको प्रारम्भिक टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, मोहमद आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, पारस खड्का, पवन शर्राफ, कमलसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, सन्दीप जोरा, सुशन भारी, शरद भेषवाकर, सन्दीप लामिछाने, सुभाष खकुरेल, सुनील धमला, कुशल मल्ल, बसन्त रेग्मी, किशोर महतो, लोकेश बम, सुमित महर्जन