आइसिसि लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले ओमानसमक्ष २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको हो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन जोडे। पूर्व कप्तान पारस खड्काले ३८ रन, बिनोद भण्डारीले ३५ रन बनाउँदा कुशल मल्ल र आरिफ शेखले पनि समान २८ रन जोडे।
सुवास खकुरेलले २२ जोड्दा करण केसी र सन्दीप लामिछानेले समान १० रन बनाए। आजकै खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका कमलसिंह ऐरीले नटआउट ६ रन जोडे।
ओमानका लागि महोमद नदिमले सर्वाधिक ३ विकेट लिए।
यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो। त्यसैले पनि नेपाललाई आज ओमानसँग बदला लिने अवसर छ।
आजको खेलमा नेपालका कमलसिंह ऐरीले राष्ट्रिय टिमबाट डेब्यू गरेका छन्।
शनिबार नेपालले अमेरिकालाई पराजित गर्दै यो सिरिजमा पहिलो जित हात पारेको हो।
त्रिकोणात्मक सिरिज अन्तर्गत अहिले ओमान र अमेरिका नेपाल भ्रमणमा छन्। यी तीन टोलीबीच दुई-दुई खेल गरेर प्रत्येकले चार खेल खेल्ने छन्।