लेग स्पिनर सन्दीप लामिछाने र अर्का स्पिनर सुसान भारीले उत्कृष्ट प्रदर्शन गरेपछि अमेरिका ३५ रनमा अलआउट भएको छ।
सन्दीपले ६ विकेट हात पार्दा सुसान ४ विकेट लिए।
बुधबार कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर नेपालविरूद्ध ब्याटिङ गरेको अमेरिकाले १२ औं ओभरमा अल आउट हुँदै ३५ रन जोड्यो।
दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले ओभरको अन्तिम बलमा आइजी होल्यान्डलाई शून्य रनमै प्याविलियनको दिशा देखाए।
सातौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सुसन भारीले पहिलो बलमै मार्सललाई आउट गरे। लगत्तै आठौं ओभरमा आफ्नो चौथो ओभर लिएर सन्दीप बलिङ गर्न आए। उनले सो ओभरमा दुई विकेट हात पारे। लामिछानले एमडी पटेल र एनके पटेललाई प्याविलियनको दिशा देखाए।
नवौं ओभरमा सुसान भारीले जोन्सलाई ४ रनमा आउट गरे। ९.५ ओभरमा लामिछानेले फेरी टिके पटेललाई एलबिडब्ल्यूको धरापमा पारे।
सुसानले फेरी स्टेभेन्सन र थेरनको विकेट लिए भने अलआउट गर्ने क्रममा सन्दीपले होमराज र केन्जिगीको विकेट लिए।
३६ रनको न्यून लक्ष्य पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
अमेरिकाले नेपाललाई दिएको ३६ रनको लक्ष्य एकदिवसीय अन्तराष्ट्रिय खेलमा अर्को सबैभन्दा कम लक्ष्य हो। सन् २००४ मा श्रीलंकाले पनि जिम्बाबेलाई ३५ रनमै अलआउट गरेको थियो।
त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकी र ओमानी टोली नेपाल भ्रमणमा थियो। ओमानले भने नेपाल र अमेरिकाविरूद्धको चारवटै खेल जितेको थियो। नेपालले भने यसअघि अमेरिकालाई नै पराजित गर्दै सिरिजमा पहिलो जित दर्ता गरेको छ।
आजको नतिजा आफ्नो पक्षमा पारे नेपालले दुई जित हात पार्ने छ।
आइसिसीले विश्वकप छनोटको लागि नयाँ रोडम्याप तय गरेपछि गत अगस्टबाट त्रिकोणात्मक सिरिज सुरु भएको हो। नेपालसहित यो समुहमा ७ टोली छन्। टोलीका शीर्ष तीन टोली सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन्।