चैत १ गतेदेखि १५ गेतसम्म हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा यसपटक वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेल खेल्दैछन्। गेल पोखरा राइनोजमा आबद्ध छन्।
गेललाई कति रकममा आबद्ध गरेको खुलाइएको छैन। पोखरा राइनोज व्यवस्थापन स्रोतका अनुसार गेलका लागि १ करोड रुपैयाँ भन्दा बढी खर्च हुँदैछ।
टिकट, होटल र म्याच फीका लागि करोड रुपैयाँ खर्च हुने भए पनि गेलले इपिएलका पुरै खेल खेल्नैछनन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने केहि खेल खेलर गेल आइपिएलका लागि भारत जानेछन्।
गेलमात्र होइन इपिएलका लागि यसपटक अन्य चर्चित खेलाडी पनि नेपाल आउने भएकाले क्रिकेटप्रेमी उत्साहित छन्।
इपिएलले एक टिममा एक आइकोनिक खेलाडीसहित चार जना विदेशी खेलाडी राख्ने नियम यहि सिजनदेखि बनाएको छ।
पोखरामा गेलसहित स्कटल्यान्डका देब्रे हाते ब्याट्सम्यान हेनरी जर्ज मुन्सी र वेस्ट इन्डिजकै तीव्र गतिका बलर केस्रिक विलियम्स पनि आबद्ध छन्।
काठमाडौं किंग्स ११ मा न्युजिल्यान्डका कोरि एन्डर्सन र आयरल्यान्डका केभिन ओ'ब्रायन आबद्ध भइसकेका छन्।
चितवन टाइगर्सले न्युजिल्यान्डका अलराउन्डर जेम्स फुलर, सिंगापुरका टिम डेभिड, आयरल्यान्डका पाउल स्टर्लिङ र अफगानिस्तानका मोहमद साहजादलाई भित्र्याइसकेको छ।
साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकाका उपुल थाराङ्गासहित पाकिस्तानका हमाद अजाम, हसन खान र मिर हम्जासँग सम्झौता गरेको छ।
भैरहवा ग्लाडिएर्टसले वेस्ट इन्डिजका ड्वाइन स्मिथलाई भित्र्याएको थियो। स्मिथसँगै श्रीलंकाका श्रीवद्र्धना र जीवन मेन्दिस तथा ओमानका विलाल खान पनि भैरहवामा छन्।
विदेशी खेलाडीलाई मोटो रकम तिरेर भित्र्याइए पनि इपिएलले खेलाडी सम्झौता रकम गोप्य राखेको छ। पारिश्रमिक पाउने गरी भित्र्याइएका खेलाडीहरु पर्यटक भिसामा नेपाल आएर खेल्नेछन्।
नेपालमा फुटबल खेल्नका लागि श्रम स्वीकृति लिनु पर्ने नियम छ। तर क्रिकेट खेल्ने विदेशी खेलाडीले भने अहिलेसम्म श्रम स्विकृति लिएर खेलेका छैनन्।