आइपिएल क्रिकेट २०२० नभएको अवस्थामा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको राष्ट्रिय टिममा पर्ने सम्भावना सकिने भएको छ।
भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीले आइपिएल २०२० पछि धोनी विश्वकप २०२० का लागि भारतीय राष्ट्रिय टिममा पर्ने वा नपर्ने विषयमा निर्णय हुने बताएका थिए।
तर आइपिएल नै नहुने भएपछि धोनीको करिअर नै संकटमा परेको भारतका पूर्व कप्तान तथा छनोट समितिका पूर्व अध्यक्ष क्रिस श्रीकान्तले बताएका छन्।
उनले स्टार स्पोर्ट्सको कार्यक्रममा बोल्दै आइपिएल नभएको अवस्थामा धोनीको राष्ट्रिय टिममा पर्ने सम्भावना न्यून हुने बताए। उनले आफू छनोट समितिको अध्यक्ष भए धोनीलाई टिममा नराख्ने बताए।
यसअघि गत महिना धोनी आइपिएलका लागि प्रशिक्षणमा फर्किएका थिए।
चेन्नइ सुपरकिंग्सका कप्तान धोनीको अभ्यास हेर्न केहि हजार दर्शक चेन्नइमा पुगेका थिए।
भारतीय टिममा नपरे पनि धोनीलाई २०२१ सम्म रिटेन गर्ने चेन्नइको व्यवस्थापनले बताइसकेको छ।
धोनीले वर्षको सुरुमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँगको ए श्रेणी खेलाडीको सम्झौता गुमाएका थिए।
क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। उनले पछिल्लो एकदिवसीय खेल विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। टी–२० मा भने धोनीले पछिल्लो पटक २०१९ को फेब्रुअरी अस्ट्रेलियाविरुद्ध खेलेका थिए।
विश्वकपबाट फर्किएपछि धोनी राष्ट्रिय टिमबाट छुट्टी लिएर भारतीय सेनाको ड्युटीमा खटिएका थिए।
त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिदै आएको छ। धोनीले विश्वकप यता कुनै पनि व्यवासायिक खेल खेलेका छैनन्।