महामारीको रूपमा संसारभर फैलिरहेको कोरोनाभाइरसका कारण अधिकांस देश लकडाउनको अवस्थामा छन्। जसका कारण सबै गतिविधि ठप्प छन्। यसमा खेलकुद पनि अछुतो रहेको छैन।
लकडाउनले गतिविधि ठप्प भइरहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सामाजिक सञ्जालमा सक्रिय छ। उसले कहिले पुराना खेलहरु पुन:प्रशासरण गरिरहेको छ भने कहिले दर्शकलाई मन पर्ने क्रिकेटर रोज्न आइसिसीले प्रश्न गरेको छ।
पछिल्लो समय आइसिसीले आफ्नो सामाजिक सञ्जालमा संसारको उत्कृष्ट टी–२० टिम बनाउन क्रिकेटप्रेमीलाई आग्रह गरेको छ। टिम बनाउदा एक देशबाट एक खेलाडी मात्र राख्न भनिएको छ।
जसमा सयौं प्रतिक्रिया आएका छन्। अफगानिस्तानका रासिद खान र श्रीलंकाका लासिथ मालिङ्गा लोकप्रिय छनोटमा परेका छन्। कतिपयले भने नेपालका लेगस्पिनर सन्दीप लामिछानेलाई पनि आफ्नो रोजाइमा राखेका छन्।