भारतलाई पछि पारेर अस्ट्रेलिया टेस्ट र टी-२० क्रिकेटको नम्बर एक टिम बनेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले वार्षिक अपडेट गर्दा अस्ट्रेलियाले भारतलाई पछि पारेर टेस्ट र टी-२० मा पुन: शीर्ष स्थान कब्जा गरेको हो।
एकदिवसीय वरीयतामा भने विश्वविजेता इंग्ल्यान्ड शीर्ष स्थानमा छ।
नेपालको टी-२० र एकदिवसीय वरीयतामा कुनै परिवर्तन भएको छैन। नेपाल एकदिवसीयमा सोह्रौं र टी-२० मा पन्ध्रौं वरीयतामा छ।
भारत सन् २०१६ को अक्टोबरदेखि टेस्टमा शीर्ष वरीयतामा उक्लिएको थियो।
टेस्ट वरीयतामा न्युजिल्यान्ड दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा झरेको छ। इंग्ल्यान्ड चौथो, श्रीलंका पाँचौ, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौं, वेस्ट इन्डिज आठौं र अफगानिस्तान नवौं स्थानमा छन्।
बंगलादेश दशौं स्थानमा रहदा जिम्बावे एघारौं र आयरल्यान्ड बाह्रौं स्थानमा छन्।
एकदिवसीयमा इंग्ल्यान्डपछि दोस्रो स्थानमा भारत, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा दक्षिण अफ्रिका, पाँचौमा अस्ट्रेलिया, छैटौंमा पाकिस्तान, सातौंमा बंगलादेश, आठौंमा श्रीलंका. नवौंमा वेस्ट इन्डिज र दशौं स्थानमा अफगानिस्तान छन्।
एघारौंमा आयरल्यान्ड, बाह्रौमा नेदरल्यान्ड्स, तेह्रौंमा ओमान, चौधौंमा जिम्बावे, पन्ध्रौंमा स्कटल्यान्ड र सोह्रौं स्थानमा नेपाल छन्।
टी-२० मा अस्ट्रेलियापछि दोस्रो स्थानमा इंग्ल्यान्ड, तेस्रोमा भारत, चौथोमा पाकिस्तान, पाँचौमा दक्षिण अफ्रिका, छैटौंमा न्युजिल्यान्ड, सातौंमा श्रीलंका, आठौंमा बंगलादेश, नवौंमा वेस्ट इन्डिज र दशौंमा अफगानिस्तान छन्।
एघारौंमा जिम्बावे, बाह्रौंमा आयरल्यान्ड, तेह्रौंमा युएई, चौधौंमा स्कटल्यान्ड र पन्ध्रौं स्थानमा नेपाल छन्।