बंगलादेशका अलराउन्डर सकिब अल हसन अहिले प्रतिबन्धमा छन्। बुकीले सम्पर्क गर्न गरेको प्रयासको सूचना समयमै उपलब्ध नगराएका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सकिबमाथि प्रतिबन्ध लगाएको थियो।
उनले घटनालाई अनजानबस सामान्यरुपमा लिएकाले प्रतिबन्ध ब्यहोर्नु परेको बताए। जसका कारण अहिले ठूलो शिक्षा पाएको उनको भनाइ छ।
गत अक्टोबरमा उनलाई आइसिसीले तीन वटा नियम उल्लङघन गरेको अभियोग लगाएको थियो।
'कुनै कुरालाई सामान्य रुपमा लिन हुदो रहेनछ भन्ने महसुस भयो। मैले यो समयमा सिकेको सबैभन्दा ठूलो शिक्षा यहि हो,' उनले बंगलादेशको डिडब्लू बंगलासँग कुरा गर्दै भनेका छन्,'मेरो लागि यो सबैभन्दा कठिन समय हो। किनभने म खेल्नबाट प्रतिबन्ध छु भनेर सोचिहरनु पर्छ।'
उनी अहिले कोरोनाभाइरसका कारण भएको लकडाउनका कारण घरमै बसिरहेका छन्। जसका कारण परिवारसँग सँगै बस्दा तनाव कम भएको बताए।
उत्कृष्ट लयमा रहेका सकिब प्रतिबन्धअघि विश्वकै उत्कृष्ट अलराउन्डर थिए। उनले विश्वकप २०१९ मा ८६.५७ को औषतमा ६०६ रन प्रहार गरेका थिए।
'पहिलो कुरा त म खेलमा फर्कन चाहन्छु। सायद अरु कुनै निर्णय फेरिएन भने चार वा पाँच महिनामा खेलमा फर्कनेछु। त्यो बेला पहिलाको जस्तै खेल्न सक्नु मेरो लागि सबैभन्दा ठूलो चुनौती हुनेछ। म जहाँ रोकिएको थिएँ त्यहिँबाट यात्रा सुरु गर्नु पर्छ।
सकिबले गत विश्वकपमा तेस्रो नम्बरमा जबरजस्त ब्याटिङ गरेका थिए। यो पोजिसनमा ब्याटिङ गर्न उनलाई दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले प्रेरित गरेका थिए।