आफूमाथि लागेको तीन वर्षको प्रतिबन्धविरुद्ध पाकिस्तानी क्रिकेटर उमर अकमलले अपील गरेका छन्।
पाकिस्तान क्रिकेट बोर्डले उमरलाई गत वैशाख १५ गते पाकिस्तान सुपर लिगअघि भ्रष्ट काम गर्न खोजेको भन्दै सबै खाले क्रिकेटबाट तीन वर्षको प्रतिबन्ध लगाइएको थियो।
उनले प्रतिबन्धको समय घटाउनको उद्देश्यका साथ अपील गरेका छन्। अपीललाई अब स्वतन्त्र समितिले अध्ययन गर्नेछ। यद्यपी उनको फेरि बयान भने हुनेछैन।
यसअघि मोहमद इर्फानको प्रतिबन्ध १ वर्षबाट घटाएर ६ महिनमा झारिएको थियो भने मोहमद नवाजलाई पनि दुई महिनाको मात्र प्रतिबन्ध लगाइको थियो। उस्तै केसमा बढी सयम प्रतिबन्ध भएको भन्दै उमरले अपील गरेका हुन्।
फिक्सिङको विषयमा आएको प्रस्तावको जानकारी समयमै नगराएकोमा अकमललाई दोषी ठहर्याइएको थियो।
उनीमाथि कारबाही भएको यो पहिलो पटक होइन। यसअघि उनले २०१८ एक टेलिभिजन अन्तरवार्तामा २०१५ को विश्वकपमा आफूलाई स्पट फिक्सङ गर्न प्रस्ताव आएको बताएका थिए।
यस्तै उनले भारतविरुद्धका केहि खेलअघि आफूलाई फिक्सिङको प्रस्ताव आएको दाबी गरेका थिए।
२९ वर्षीय अकमलले गत अक्टोबरमा श्रीलंकाविरुद्ध टी-२० खेल खेलपछि देशका लागि खेलेका छैनन्।
यसअघि पाकिस्तान सुपर लिग २०२० सुरु हुनेअघि क्वेटा ग्लाडिएर्टसले उनलाई अनावश्यक बोलेको भन्दै निलम्बन गरेको थियो।
यद्यपी उनले आफूले प्रस्ताव आउनासाथ क्रिकेट बोर्डलाई जानकारी गराएको र अरु खेलाडीलाई पनि सचेत गराएको भन्दै आफू निर्दोष भएको बताउँदै आएका छन्।
अकमलका भाइ कमरान पाकिस्तानका पूर्वविकेटकिपर हुन् भने अहिलेका कप्तान बाबर अजाम दिदीका छोरा हुन्।
उमरले पाकिस्तानका लागि १६ टेस्ट, १२१ एकदिवसीय र ८४ टी-२० खेलेका छन्।