अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) लाई सन् २०२१ मा भारतमा आयोजना गरिने टी-२० विश्वकप अन्तै सार्ने चेतावनी दिएको छ।
बिसिसिआईले भारतीय सरकारबाट विश्वकपको कर छुट गराउन अहिलेसम्म नसकेको भन्दै प्रतियोगिता नै अन्त सार्न सकिने चेतावनी दिएको हो।
भारतले कर छुट गर्ने विषयमा जुन ३० जुनसम्म कुर्नका लागि आइसिसीलाई इमेल गरेको थियो। तर आइसिसीले बिसिसिआईको अनुरोधलाई अस्वीकार गर्दै प्रतियोगिता नै अन्त सार्ने चेतावनी दिएको हो।
आइसिसीले जुन १८ भित्रमा सम्झौता भइसक्नु पर्ने ब्यहोराको पत्र समेत पठाएको छ। आइसिसीको चेतावनीका बावजुद बिसिसिआईले कर छुटको विषयमा चाडैं निष्कर्षमा पुगिने विश्वास लिएको छ।
आइसिसी र बिसिसिआईबीच कर छुटको विषयमा सन् २०१६ देखि नै विवाद हुँदै आएको छ।
सन् २०१६ को टी–२० विश्वकप भारतमा आयोजना हुँदा कर छुट भएको थिएन। जसका कारण आइसिसीलाई २० देखि ३० मिलियन अमेरिकी डलर घाटा भएको थियो।