अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कोरोना भाइरसका कारण क्रिकेटका केही नियम अस्थायी रुपमा परिवर्तन गरेको छ।
खेलाडी तथा म्याच अफिसिलको सुरक्षालाई ध्यानमा राख्दै नियम परिवर्तन गरिएको हो। अनिल कुम्ब्ले अध्यक्ष रहेको क्रिकेट कमिटीले गरेको सिफारिसलाई आइसिसीले अनुमोदन गरेसँगै अबका प्रतिस्पर्धामा नयाँ नियम लागु हुनेछ।
अब क्रिकेट बल टल्काउन तथा बलमा थुक लगाउन पाइनेछैन। यसअघि क्रिकेट बल टल्काउनका लागि सालिभा प्रयोग गरिदै आइएको थियो। यो प्रयोग हुँदा कोरोना संक्रमण हुन सक्ने आइसिसीको मेडिकल सल्लाहकार समितिका अध्यक्ष डा पिटर हरकोर्टले बताएका थिए।
यस्तै कोरोनाको लक्षण देखिए खेलाडी परिवर्तन गर्न पाइने नयाँ नियम बनाइएको छ। यो नियम टेस्ट क्रिकेटमा मात्र लागु हुनेछ। एकदिवसीय र टी-२० मा खेलाडी परिवर्तन गर्न पाइनेछैन।
यस्तै अन्तर्राष्ट्रिय खेलहरूमा स्थानीय अम्पायर र म्याच रेफ्री राख्न सकिनेछ। यो नियम अबको टेस्ट, एकदिवसीय र टी-२० म्याचमा लागु हुनेछ। सन् २००२ देखि आइसिसीले प्रतिस्पर्धा गरिरहेको देशका अफिसियलहरू त्यहिँ खेलमा राख्न नपाइने नियम बनाएको थियो।
एक देशबाट अर्को देशमा जाँदा कोरोनाको संक्रमण हुन सक्ने र विभिन्न देशले ल्याएका नियमले गर्दा अम्पायर र म्याच रेफ्री उपलब्ध हुन कठिन हुने देखिएपछि नयाँ नियम बनाइएको हो।
अब छोटो अवधिका लागि स्थानीय अफिसयलले क्रिकेट खेलाउन सक्नेछन्।
यसैगरी डिआरएस रिभ्यू थप एक पटक लिन पाइने नियम बनाइएको छ।