नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका लालचन्द राजपुत नियुक्त हुन सक्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अहिलेकै सहमतीमा काम भए ५८ वर्षीय राजपुत निकट भविष्यमा नेपाली क्रिकेट टिमका प्रशिक्षक नियुक्त हुनेछन्।
'हामीले लकडाउनअघि नै ३-४ जनाको प्रशिक्षकसँग कुरा गरेका थियौं,' चन्दले भने,'ती मध्ये भारतका लालचन्द राजपुतलाई ल्याउने सहमती भएको थियो।'
चन्दले लकडाउनअघि भारत गएर राजपुतसँग कुराकानी समेत गरेका थिए। कुराकानीका क्रममा राजपुत सकारात्मक देखिएका थिए।
'राजपुत पनि नेपालको प्रशिक्षक बन्न तयार छन्,' चन्दले भने।
राजपुतसँग सम्झौता गर्नका लागि तलबमा भने कुरा मिलेको छैन। त्यसका लागि क्यानले गृहकार्य गरिरहेको छ।
'तलबमा कुरा मिले हामी कार्यसमिति बैठकबाट उनलाई प्रशिक्षक बनाउने निर्णय गर्छौं,' अध्यक्ष चन्दले बताए।
राजपुत हाल टेस्ट टिम जिम्बावेका प्रशिक्षक छन्। उनी अगस्ट २०१८ मा जिम्बावेको प्रशिक्षक नियुक्त भएका थिए।
भारतका पूर्वअन्तर्राष्ट्रिय खेलाडी राजपुतले सन् १९८५ देखि १९८७ सम्ममा दुई टेस्ट र चार एकदिवसीय खेल खेलेका थिए। उनले सन् १९९९ सम्म पहिलो श्रेणीको क्रिकेट खेलेका थिए। ११० खेल खेल्ने क्रममा उनले ९ हजार ९ सय ८८ रन बनाएका थिए।
सन् २००७ मा भारतको यु-१९ राष्ट्रिय टिमको प्रशिक्षक बनेका राजपुत त्यहिँ वर्ष भारतको टी-२० टिमको म्यानेजर बनेका थिए। सो वर्ष भारतले टी-२० विश्वकप जितेको थियो।
राजपुत सन् २००८ मा आइपिएल टिम मुम्बई इन्डियन्सका प्रशिक्षक नियुक्त भएका थिए।
सन् २०१६ मा उनले अफगानिस्तानको प्रशिक्षण सम्हाले। उनले त्यतिबेला पाकिस्तानका इन्जमाम उलहकलाई बिस्थापित गरेका थिए।
उनको एक वर्षे प्रशिक्षणमा अफगानिस्तानले वेस्ट इन्डिजलाई पराजित गरेको थियो।
२०१८ मे मा उनी जिम्बावेको अन्तरिम प्रशिक्षक बनेका थिए। तीन महिनापछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।
आगामी अगस्टमा उनी जिम्बावेको प्रशिक्षक बनेको दुई वर्ष पुग्दैछ।
नेपालले राजपुतलाई प्रशिक्षक बनाए आगामी अगस्टपछि मात्र नियुक्त गर्नेछ। नयाँ प्रशिक्षक नआउन्जेल नेपाली टिमको प्रशिक्षण राष्ट्रिय खेलुकद परिषद्का प्रमुख प्रशिक्षक जगत टमटाले सम्हाल्नेछन्।
टमटाअघि नेपाली टिमको प्रशिक्षक भारतकै उमेश पटवाल थिए। पटवालले गत माघमा राजीनामा दिएका थिए।
मासिक ७ हजार डलर तलब पाउने पटवालसँग २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता थियो। यो तलबमा कर लाग्ने भएपछि पटवाल असन्तुष्ट थिए। त्यसैले पटवालले सम्झौता सकिनुअघि नै राजीनामा दिएका थिए।
पटवालअघि नेपाली टिमको प्रशिक्षक टमटाले हेरेका थिए। टमटाकै नेतृत्वमा नेपालले एकदिवसीय मान्यता पाएको थियो। श्रीलंकन मूलका क्यानेडियन प्रशिक्षक पुबुदु दसानायकेले छाडेपछि टमटाले तीन वर्ष नेपाली टिमको नेतृत्व गर्ने अवसर पाएका थिए।