पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोनभाइरसको संक्रमण भएको छ।
अफ्रिदीले आफूलाई कोडिभ-१९ को परीक्षणमा पोजेटिभ देखिएको ट्विटरमार्फत शनिबार सार्वजनिक गरेका हुन्।
४० वर्षीय अफ्रिदी गत बिहीबारदेखि बिरामी परेका थिए। अफ्रिदी कोरोनाबाट संक्रमित हुने पाकिस्तानका दोस्रो अन्तर्राष्ट्रिय खेलाडी हुन्। यसअघि पूर्व क्रिकेटर तौफिक उमरलाई पनि कोरोनाको संक्रमण भएको थियो। उमर कोरोनामुक्त भइसकेका छन्।
'गत बिहीबारदेखि अस्वस्थ थिएँ। शरीरले अर्कै प्रतिक्रिया दिएको थियो। मैले परीक्षण गरेँ। दुर्भाग्यवस कोभिडको पोजेटिभ नतिजा आयो। चाडै निको हुने प्रार्थना गर्छु,' अफ्रिदीले ट्विटरमा लेखेका छन्।
क्रिकेटबाट संन्यास लिइसकेका अफ्रिदी पछिल्लो समय पाकिस्तानमा कोरोनाबाट प्रभावितलाई राहत बाढ्न सक्रिय थिए।
अफ्रिदीले सन् १९९६ मा पाकिस्तानी टिममा डेब्यू गरेका थिए। उनले पाकिस्तानका लागि २७ टेस्ट, २९८ एकदिवसीय र ९९ टी-२० खेले।
ओपनिङ ब्याट्सम्यानबाट करिअर सुरुवात गरेका उनी पछि अलराउन्डर बनेका थिए।
उनले टेस्टमा १८१६, एकदिवसीयमा ८०६४ र टी-२० मा १४१६ रन बनाएका थिए।
लेग स्पिन बलिङ गर्ने अफ्रिदीले टेस्टमा ४८ विकेट लिँदा एकदिवसीयमा ३९५ विकेट र टी-२० मा ९८ विकेट हात पारे।
उनले सन् २०११ को विश्वकपमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी सम्हालेका थिए।
अफ्रिदीले एकदिवसीय खेलमा छिटो शतक बनाउने रेकर्ड बनाएका थिए। पछि यो रेकर्ड न्युजिल्यान्डका कोरी एन्डर्सनले भंग गरे।
एन्डर्सनको रेकर्ड पनि दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले तोड्ने क्रममा ३१ बलमा शतक बनाए।