जर्सीमा अंकित नम्बर खेलाडीहरूको पहिचान हो। कतिपय खेलाडीका लागि जर्सीमा अंकित नम्बरको विशेष महत्व र अर्थ हुन्छ।
नेपाली खेलाडी मध्ये क्रिकेटर पारस खड्काले लगाउने जर्सीमा अंकित ७७ नम्बर धेरैलाई याद हुने गरेको छ। त्यसैले अलराउन्डर पारसको अर्को पहिचान ७७ नम्बर पनि हो।
पूर्वकप्तान पारसले ७७ नम्बर अंकित जर्सी लाउनुका पछाडि धेरै कारण छन्।
नेपाली क्यालेन्डर अनुसार पारसको जन्म महिना कात्तिक (सातौं) महिनामा पर्छ। पारस कात्तिकको ७ गते जन्मिएका हुन्। ३२ वर्षीय पारसले ७७ नम्बरको जर्सी लगाउनुको पहिलो कारण सातौं महिनाको सात गते जन्मदिन परेकाले हो।
त्यसो त पारस ७ नम्बरलाई आफ्नो 'लक्की नम्बर' पनि मान्छन्। किनकी उनी नेपाली राष्ट्रिय टिमका सातौं कप्तान हुन्।
उत्तम कर्माचार्य, लेखबहादुर केसी, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दासपछि नेपालको सातौं कप्तानका रुपमा पारसले जिम्मेवारी पाएका थिए।
पारसले सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए। १० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेपछि उनले गत वर्ष राजीनामा दिएका थिए।
'नम्बरमा त्यति विश्वास त गर्दिन। तर, मेरो लागि ७ नम्बर लक्की छ,' पारसको भनाइ छ।
पारसले पहिलो अन्तर्राष्ट्रिय शतक ७७ बलमा प्रहार गरेका थिए। उनले सन् २०१२ को एसिसी ट्रफीमा कुवेतविरुद्ध ७७ बलमा नटआउट १०६ रन प्रहार गरेका थिए। यो पारसको पहिलो अन्तर्राष्ट्रिय शतक हो।
त्यसयता पारसले नेपालका लागि पाँच शतक प्रहार गरिसकेका छन्। अलराउन्डर पारसको नाममा नेपालका लागि पहिलो एकदिवसीय र पहिलो टी-२० शतक हान्ने कीर्तिमान छ।
७ अंकको भाग्य पारसकी श्रीमती प्राप्ती राज्यलक्ष्मी राणासँग पनि जोडिएको छ। राणाको जन्मदिन पनि सात गते पर्नुलाई पनि पारस 'लक' मान्छन्।
भिडिओ :