पाकिस्तान क्रिकेट टिमका तीन जना खेलाडीलाई कोरोनाभाइरसको संक्रमण भएको छ।
हैदर अली, सादब खान र हरिस राउफलाई कोरोना भाइरसको संक्रमण भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। तीनै खेलाडी अहिले आइसोलेसनमा बसेका छन्।
राउलपिण्डीमा तीन जनासँगै परीक्षण गरिएका इमाद वासिम र उस्मान शिन्वारीको भने नेगेटिभ नतिजा आएको छ। अन्य खेलाडी, अफिसियल, बलिङ कोच वाकार युनिस, सोएब मलिक र क्लिफी डेकनको परीक्षणको नजिता मंगलबार आउने बताइएको छ।
इंग्ल्यान्ड भ्रमणअघि गरिएको परीक्षणमा महत्वपूर्ण खेलाडीलाई कोरोना देखिएपछि पाकिस्तानी टिममाथि चुनौती थपिएको छ।
पाकिस्तानी टिम तीन टेस्ट र तीन टी-२० खेल्नका लागि आगामी साता इंग्ल्यान्ड प्रस्थान गर्दैछ। इंग्ल्यान्ड र पाकिस्तानबीचको सिरिज आगामी अगस्टमा हुनेछ। भ्रमणमा खेलाडीका परिवारलाई जान अनुमति दिइएको छैन।
यसअघि हरिस सोहिल र मोहमद अमिरले इंग्ल्यान्ड भ्रमण नगर्ने जनाएका थिए। पाकिस्तानी टिम अझै सँगै भइसकेको छैन। त्यसैले पशिक्षण पनि एकै तरिकाले हुन पाएको छैन।
पाकिस्तानी टिम आगामी जुन २८ मा लाहोरबाट म्यानचेस्टरका लागि प्रस्थान गर्ने कार्यक्रम छ।
कोरोना लागेका खेलाडीले अहिले इंग्ल्यान्ड जान पाउनेछैनन्। खेलाडीहरु १४ दिनको आइसोलेसनमा बस्नु पर्नेछ र त्यसपछि नेगेटिभ नजिता आउनु पर्नेछ। अनि मात्र उनीहरु इंग्ल्यान्ड भ्रमणमा जान पाउनेछन्।
अघिल्लो साता पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई पनि कोरोनाको संक्रमण भएको थियो।
यता क्रिकेट साउथ अफ्रिकाले गरेको परीक्षणमा सात जनालाई कोरोनाको संक्रमण देखिएको छ।
सय जनाको परीक्षण गराएकोमा सात जनामा संक्रमण भेटिएको क्रिकेट साउथ अफ्रिकाका सिइओले बताएका छन्। संक्रमण भएका खेलाडी हुन् कि होइन खुलाइएको छैन।