वेस्ट इन्डिज ब्याट्सम्यान क्रिस गेलले २०२० को क्यारेबियन प्रिमियर लिग नखेल्ने भएका छन्। खेलाडी छनोटका लागि ड्राफ्ट हुने अघिल्लो दिन गेलले लिग नखेल्ने बताएका हुन्।
कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ। लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा हुने तय छ। तर ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन बाँकी नै छ।
यो सिजनका लागि गेल सेन्ट लुसियाबाट खेल्ने तय थियो। तर उनले व्यक्तिगत कारण देखाउँदै लिगका लागि उपलब्ध नहुने बताएका छन्।
उनले सेन्ट लुसियालाई इमेल गर्दै लकडाउनका कारण परिवारलाई भेट्न नपाउने भएकाले लिग नखेल्ने बताएका छन्। जमैकामा रहेका गेलले अहिलेको लागि ब्रेक चाहेको र परिवारलाई समय दिने बताएका छन्।
सिजनका लागि जमैका तालावाजले गेललाई रिलिज गरेपछि सेन्ट लुसियाले भित्र्याएको थियो।
वेस्ट इन्डिजका अनुभवी ब्याट्सम्यान गेलले सिपिएलको सुरुवाती चार सिजन जमैकाबाट खेलेका थिए। त्यसपछि उनी सेन्ट किट्स हुँदै नेभिस प्याट्रिओट्समा आबद्ध भए।
फेरि गत सिजन उनी जमैकामै फर्किएका थिए। तर उनको प्रदर्शन राम्रो हुन सकेन। गत सिजन जमैका अंक तालिकाको पुछारमा रहेको थियो।