भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीमाथि दोहोरो पदमा बसेर फाइदा लिएको आरोप लागेको छ।
मध्यप्रदेशका सञ्जीव गुप्ताले कोहलीले दोहोरो पदमा बसेर फाइदा लिएको भन्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को एथिक्स अधिकारी डिके जैनसँगै बोर्डका कार्यकारी सदस्यलाई इमेल पठाएका छन्।
गुप्ताले कोहली एकै समयमा दुई पदमा बसेको दाबी गरेका छन्। भारतीय सर्वोच्च अदालतले अनुमोदान गरेको बिसिसिआईको नियम ३८ को ४ उल्लंघन भएको भन्दै कोहलीले पद त्याग्नु पर्ने उनले माग गरेका छन्।
उनका अनुसार विराट कोहली स्पोर्ट्स कम्पनीमा कोहली पद बसेका छन्। कम्पनीमा विराट र अमित अरुण साझेदार छन्।
कोहलीले कर्नरस्टोर भेन्चर पार्टनरमा पनि पद लिएको बताइएको छ। यो कम्पनीमा तीन जना पार्टनर छन्। जसमा विराटसँगै अमित अरुण र विनय भर रहेका छन्।
गुप्ताले पठाएको मेलमा भनिएको छ, 'म नैतिक अधिकारीसँग विनम्रतापूर्वक अनुरोध गर्छु कि विराट कोहलीलाई एक पद त्याग्नका लागि आदेश दिनुहोस्। किनकी बिसिसिआईको विधानको उल्लङ्घन भएको छ। जुन विधान भारतको सर्वोच्च अदालतले अनुमोदन गरेको छ।'
गुप्ताले विराटले पद त्यागेर आफूले केही नपाउने उल्लेख गर्दै सर्वोच्च अदालतको सबैले सम्मान गर्नु पर्ने बताएका छन्।
यसअघि गुप्ताले भारतका क्रिकेटरहरु सचिन तेन्दुलकर, भिभिएस लक्ष्मण र राहुल द्रविडविरुद्ध पनि यस्तै उजुरी दर्ता गराएका थिए। यद्यपी तीनै जनाले क्लिनचिट पाएका थिए।