वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टअघि इंल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर टिमबाट हटाइएका छन्।
आर्चरलाई 'बायो-सेक्योर प्रोटोकल' तोडेको भन्दै टिमबाट हटाइएको हो।
२५ वर्षीय आर्चर साउथह्याम्टनमा भएको पहिलो टेस्ट र बिहीबार म्यानचेस्टरमा सुरु हुने दोस्रो टेस्टको बीचमा आफ्नो घर गएका थिए।
कोरोना भाइरसका कारण सबै खेल अहिले बिना दर्शकको रंगशालामा भइरहेका छन् भने खेलाडीहरुले 'बायो-सेक्योर प्रोटोकल' पालना गर्नु पर्नेछ। तर आर्चर नियमबिपरित आफ्नो घर गएका थिए।
यसअघि १३ सदस्यीय टिममा रहेका आर्चरले नियम तोडेको बुधबार राती सार्वजनिक भएको थियो।
दोस्रो टेस्टमा उनको स्थानमा टिममा पर्ने खेलाडीको नाम अहिले सार्वजनिक गरिएको छैन।
टिमबाट निकालिएपछि आर्चरले माफी मागेका छन्। उनले आफ्नो गल्तीले टिम खतरामा परेको भन्दै माफी मागेका हुन्।
अब आर्चर पाँच दिन आइसोलेसनमा बस्नेछन्। त्यसक्रममा उनको दुई पटक कोरोना भाइरसको परीक्षण हुनेछन्। दुवै परीक्षणमा नेगेटिभ नतिजा आए मात्र उनी टिममा फर्कन सक्नेछन्।
इंग्ल्यान्डका लागि आठ टेस्ट खेलिसकेका आर्चरले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा ३ विकेट लिएका थिए। उनी दोस्रो इनिङ्ग्समा टिमका एक्ला तीब्र गतिका बलरका रुपमा खेलेका थिए। दोस्रो इनिङ्ग्समा जेम्स एन्डरसन र मार्क उडलाई आराम दिइएको थियो।