नेपाली राष्ट्रिय क्रिकेट टिमका २२ जना खेलाडीले सन् २०१९ को तलब पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार तीन श्रेणीका २२ जना क्रिकेटरलाई तलब प्रदान गरिएको हो।
यसअघि सन् २०१९ को पाउन बाँकी तलबमा १० हजार बढाएर दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले अनुमति दिएको थियो।
सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको थियो। आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेणीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको थियो।
अहिले ‘ए’ श्रेणीकाले मासिक ४५ हजार, ‘बी’ श्रेणीकाले ३५ हजार र ‘सी’ श्रेणीकाले २५ हजार तलब पाएका छन्।
जसअनुसार ए श्रेणीकाले कूल ५ लाख ४० हजार, बी श्रेणीकाले कूल ४ लाख २० हजार र सी श्रेणीकाले ३ लाख रुपैयाँ प्राप्त गरेका छन्।
२०१९ मा क्यान निलम्बनको अवस्थामा रहेको हुनाले सो अवधिको तलब आइसिसीले प्रदान गरेको हो।
त्यसका लागि क्यानले तलब पाउने सबै क्रिकेटसँग एक वर्षको सम्झौता गरेर आइसिसीलाई कागजात पठाएको थियो।
सन् २०२० को तलब भने क्यानले नै दिनेछ। त्यसका लागि क्यानले पुरुष र महिला क्रिकेटरसँग छिट्टै सम्झौता गर्ने जनाएको छ।
सन् २०१९ मा खेलेका खेलाडी मात्र नयाँ श्रेणीमा परेका छन्। यसअघि श्रेणीमा परेका खेलाडीको नाम हटाइएको छ।
यस्तो छ क्रिकेटरको श्रेणी निर्धारण
ए श्रेणी - ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, शरद भेषावकर, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र करण केसी
बी श्रेणी - आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल, ललितनारायण राजवंशी, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोरा
सी श्रेणी- प्रदीप ऐरी, राजु रिजाल, कुशल भुर्तेल, रसिद खान, इशान पाण्डे र कुशल मल्ल