कञ्चनपुरमा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारीसहित दुई जना घाइते भएका छन्। घाइते हुनेमा तीव्र गतिका बलर भण्डारी र करण ठगुन्ना छन्।
आइतबार बेलुकी ७ बजे शुक्लाफाँटा नगरपालिका-१० झलरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिएसपी अमर बहादुर थापाले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको मोटरसाइकललाई महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै थियो। सोही बेला विपरीत दिशाबाट आएको से १ ख १३२४ नम्बरको मिनी ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो।
डिएसपी थापाका अनुसार भण्डारीको हात, कम्मर र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम भएको र ठगुन्नाको सामान्य रहेको डिएसपी थापाले बताए।
उनीहरू दुवैलाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पताल लगिएको छ।
प्रहरीले स्कुटर र मिनिट्रक नियन्त्रणमा लिएको छ। मिनिट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ।