सन् २०१८ मा न्युजिल्यान्डमा भएको आइसिसी यु–१९ विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेकै बेला भारतीय बलर कमलेश नागरकोटीले आइपिएलको सिजन–११ का लागि छनोट हुँदै सबैको ध्यान तानेका थिए।
१७ वर्षीय तीव्र गतिका बलर नागरकोटीलाई कोलकाता नाइट राइडर्सले ३ करोड २० लाख भारुमा टिममा आबद्ध गरेको थियो। युवा उमेरमा १५० किलोमिटर प्रतिघन्टामा बलिङ गरेका कारण उनी आइपिएल टिमको नजरमा परेका थिए।
तर नगरकोटीको खुसी एक महिना पनि टिक्न पाएन। सन् २०१८ को आइपिएल सिजनअघि घरेलु क्रिकेट खेल्ने क्रममा उनी घाइते भए।
सन् २०१८ को फेब्रुअरीमा ढाड तथा गोलीगाँठोको चोटले सताउदा सबैखाले क्रिकेट प्रतियोगिताबाट बाहिरिन पुगे।
भारतलाई २०१८ को यु-१९ विश्वकपको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका नगरकोटीले दुई वर्ष बेंगलुरुको नेशनल क्रिकेट एकेडेमीमा बसेर क्रिकेटमा फर्कन कोशिस गरेका थिए।
भारतको युवा टिमबाट खेलिरहेको बेला चोटले सताउँनु उनको जीवनकै कठिन समय थियो। कहिँलेकाँही त उनी आफू फेरि खेलमा फर्कन सक्दिन भनेर चिन्तित हुन्थे। क्रिकेटर करिअर यतिमै सकिने त्रासमा जिउँथे। किनभने उनले क्रिकेटर बन्न धेरै कुरा त्याग गरेका थिए।
उनलाई क्रिकेटर बनाउन पिता तथा दाइको ठूलो योगदान छ। उनका पिता भारतीय सेनाका अवकासप्राप्त सुबेदार हुन्, जसले आफ्ना छोराहरूलाई क्रिकेट खेलाउन जयपुरमा अपार्टमेन्ट किनेर राखेका थिए।
सन् २०१७ कुरा हो, यु–१९ टिममा पर्नुअघि नागरकोटीले क्रिकेट सिक्ने ठाउँका प्रशिक्षक सुरेन्द्रसिंह राठौरसामु आइफोन बोक्ने इच्छा राखेका थिए।
उनका सबै साथीसँग आइफोन थियो। जब उनी आफ्नो पुरानो फोन निकाल्थे, साथीहरु भन्ने गर्थे- 'अर्को फोन किनिहाल। दुई-दुई वर्षसम्म पनि एउटै फोन बोक्छन्?'
प्रशिक्षक राठौरले उनलाई यू–१९ टिममा परेमा आइफोन किनिदिने बाचा पनि गरेका थिए।
नभन्दै उनी यु–१९ टिममा परे। सन् २०१८ को विश्वकप खेलिरहदा उनी आइपिएल टिम कोलकताका लागि छनोट भए।
त्यसपछि त उनी रातारात करोडपति बने।
आइपिएल अक्सनको बेला नागरकोटी धेरै डराएका थिए। उनी सम्झिन्छन्- 'मेरो रुम पार्टनर पंकज यादवले अक्सनको प्रत्यक्ष प्रसारण हेरिरहेका थिए। मैले भने हेर्न सकिनँ। कोठा बाहिर निस्केँ। जब मेरो लागि बोली लाग्दै थियो, म बाथरुममा गएर बसेँ।'
उनले त्यतिबेलासम्म रंगशालामै गएर आइपिएलको एउटा मात्र खेल हेरेका थिए। कोलकताले टिममा छनोट भएपछि आफै मैदानमा गएर आइपिएल खेल्न पाउने भएपछि त्यतिबेला उनको खुसीको सीमा थिएन।
तर मैदानमै गएर आइपिएल खेल्ने उनको सपना साढे दुई वर्षसम्म पूरा हुकेन। साढे दुई वर्ष उनले मन र शरीर दुवैको चोट लिएर बाँचे।
सन् २०१८ मा छनोट भए पनि २०२० को सिजनमा मात्र मैदानमै गएर खेल्ने नगरकोटीको सपना पूरा भयो।
मुम्बई इन्डियन्सविरुद्धको पहिलो खेलमा मौका नपाएका नगरकोटीले तीन दिनअघि सनराइजर्स हैदारवादविरुद्ध खेल्दै आइपिएलमा डेब्यू गरे। डेब्यू खेलमा उनले २ ओभर बलिङ गर्दा १७ रन दिए भने विकेट लिन सकेनन्।
बुधबार राजस्थान रोयल्सविरुद्धको खेलमा भने उनले उत्कृष्ट खेले।
राजस्थानविरुद्ध २ ओभरमा १३ रन खर्चिएका नगरकोटीले २ विकेट हात पारे। खेलमा उनले दुई वटा क्याच पनि लिए। राजस्थानका जोफ्रा आर्चरको क्याच उत्कृष्ट तरिकाबाट लिएका नगरकोटी साढे दुई वर्षपछि फेरि चर्चामा आएका छन्।
पिताकै इच्छा अनुसार क्रिकेटर बनेका नागरकोटी भारतको उदीयमान युवा बलरमा पर्छन्। उनी १५० किलोमिटरको गतिमा बलिङ गर्न सक्छन्।