अन्तिम पाँच ओभरमा ७० रन जोडेपछि राजस्थान रोयल्सले सनराइजर्स हैदरावादमाथि ५ विकेटको जित निकाल्न सफल भएको छ।
आइतबार साँझ दुबईमा भएको खेलमा राजस्थानले खराब सुरुवात गरे पनि राहुल टेवाटिया र रियान परागको जोडी जमेपछि जित हात पारेको हो।
दुईबीच ८५ रनको साझेदारी हुँदा हैदरावादले दिएको १५९ रनको लक्ष्य राजस्थानले १ बल खेल्न बाँकी छदा पूरा गर्यो।
राजस्थानका लागि परागले नटआउट ४२ रन र टेवाटियाले नटआउट ४५ रनको योगदान दिए। परागले २६ बलमा २ चौका र २ छक्का हिर्काउँदा टेवाटियाले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि राजस्थानले १२ ओभरमा ७८ रन जोड्दा महत्वपूर्ण पाँच विकेट गुमाएको थियो।
राजस्थानका ओपनर बेन स्टोक ५ रनमा आउट हुँदा जोश बटलरले १६ रन भन्दा बढी जोड्न सकेनन्। यस्तै कप्तान स्टिभ स्मिम ५ रनमा आउट भएका थिए। सन्जु सामसनले २६ रन जोडेका थिए।
बलिङमा हैदरावादका खलिल अहमेद र रासिद खानले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको क्षतिमा १५८ रन जोड्यो।
उसका लागि ओपनर तथा कप्तान डेभिड वार्नरले ४८ रन जोड्दा अर्का ओपनर जोनी वायस्टो १६ रनमा आउट भए। मनिष पाण्डले ४४ बलमा ५४ रन जोडे। केन विलियमसनले १२ बलमा २२ रन जोडे।
बलिङमा राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनाडकडले १-१ विकेट लिए।