मुम्बई इन्डियन्स आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा कोलकता नाइटराइडर्समाथि ८ विकेटको जित निकाल्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो।
अबुधाबीमा भएको खेलमा कोलकताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
मुम्बईको जितमा ओपनिङ ब्याट्सम्यान क्वान्टन डी ककले नटआउट ७८ रन जोडे। उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। ओपनर तथा कप्तान रोहित शर्माले ३५ रन जोडे भने सूर्यकुमार यादव १० रनमा आउट भए।
हार्दिक पाण्ड्या २१ रनमा नटआउट रहे। पाण्ड्याले ११ बलमा ३ चौका र १ छक्का हिर्काए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले ५ विकेटको क्षतिमा १४८ रन जोड्यो। कोलकताका लागि पाट कमिङ्ग्सले नटआउट ५३ रन जोडे। उनले ३६ बलमा ५ चौका र २ छक्का हिर्काए।
ओपनर राहुल त्रिपाठी ७ रनमा आउट हुँदा शुममान गिलले २१ रन जोडे। नितिन राना ५ रन, दिनेश कार्तिक ४ रन र आन्दे रसेल १२ रनमा आउट भए।
कप्तान इयान मोर्गानले नटआउट ३९ रन जोडे। उनले २९ बलमा समान २ चौका र २ छक्का हिर्काए।
बलिङमा मुम्बईका राहुल चाहरले २ विकेट लिए।
जितसँगै मुम्बईले ८ खेलबाट १२ अंक जोडेको छ। समान खेलबाट समान अंक जोडेको दिल्ली रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ। कोलकता ८ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा छ।
आइपिएलमा शनिबार दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्स दिउँसो खेल हुनेछ। यस्तै राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच राति खेल हुनेछ।