आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ।
शनिबार दिउँसो दुबईमा भएको खेलमा राजस्थानले दिएको १७८ रनको लक्ष्य बेंग्लोरले २ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्यो।
बेंग्लोरको जितमा एबी डी भिलियर्सले उत्कृष्ट ब्याटिङ गर्ने क्रममा २२ बलमा नटआउट ५५ रन जोडे। उनले १ चौका र ६ छक्का प्रहार गरेका थिए। गुरकिरत सिंहले नटआउट १३ रनको योगदान दिए।
त्यसअघि ओपनर देवदुत पडिकलले ३५ रन जोडेका थिए भने आरोन फिन्चले १४ रन बटुलेका थिए। कप्तान विराट कोहलीले ३२ बलमा ४३ रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको क्षतिमा १७७ रन जोड्यो।
राजस्थानका लागि कप्तान स्टिभ स्मिथले सबैभन्दा बढी ५७ रन जोडे।
ओपनर रविन उथप्पाले ४१ रन बनाए भने बेन स्टोक्स १५ रनमै आउट भए।
सन्जु सामसन ९ रन र जोस बटलर २४ रनमा आउट भएका थिए। राहुल टेवाटियाले ११ बलमा नटआउट १९ रन जोडे।
बलिङमा बेंग्लोरका क्रिस मोरिसले ४ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। युजभेन्द्र चाहलको नाममा २ विकेट रह्यो।
तेस्रो स्थानमा रहेको बेंग्लोरले जितसँगै ९ खेलबाट १२ अंक जोडेको छ। एक खेल कम खेलेका शीर्ष स्थानको मुम्बई र दोस्रो स्थानको दिल्लीको पनि समान १२-१२ अंक छ। राजस्थान ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ।