आइपिएलमा चेन्नई सुपरकिंग्सले कोलकता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको छ।
बिहीबार राति दुबईमा सकिएको खेलमा पराजय भोगेसँगै कोलकताको प्लेअफ यात्रा कठिन बनेको छ।
कोलकताले दिएको १७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
चेन्नईका लागि रवीन्द्र जडेजाले नटआउट ३१ रन र साम कुरानले नटआउट १३ रन जोडे।
त्यसअघि रुतुराज गाइकवाडले ७२ रनको योगदान दिए। उनले ५३ बलमा ६ चौका र २ छक्का हिर्काए।
सेन वाट्सनले १४ रन र अम्बाती रायदुले ३८ रनको योगदान दिए। कप्तान महेन्द्रसिंह धोनी भने १ रनमै आउट भए।
बलिङमा कोलकताका बरुण चक्रवर्ती र पाट कमिङ्ग्सले २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रन जोड्यो।
उसका लागि नितिन रानाले ८७ रन जोडे। रानाले ६१ बलमा १० चौका र ४ छक्का हिर्काए।
बलिङमा चेन्नईका लुङ्गी एनगिडीले २ विकेट लिए।
पराजय भोगेको कोलकता १३ खेलबाट १२ अंक जोड्दै पाँचौ स्थानमा छ। एक खेल कम खेलेको पञ्जाव समान अंकसहित चौथो स्थानमा छ।
जितपछि पुछारमा रहेको चेन्नईले १३ खेलबाट १० अंक जोडेको छ।
आइपिएलमा शुक्रबार पञ्जाव र राजस्थानबीच खेल हुनेछ।