आइपिएलमा दिल्ली क्यापिटल्सले लगातार चौथो खेलमा पराजय भोगेको छ। दिल्लीलाई शनिबार दुबईमा भएको खेलमा मुम्बई इन्डियन्सले ९ विकेटको फराकिलो अन्तरले पराजित गर्यो।
मुम्बईले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको थियो। शनिबार जित हात पारेसँगै मुम्बईको शीर्ष दुईमा स्थान पक्का भएको छ। मुम्बईले अन्तिम खेलअघि १८ अंक जोडेको छ।
यता लगातार चौथो खेलमा पराजित भए पनि दिल्ली पनि शीर्ष दुईको दौडमा छ।
दिल्लीको अन्तिम खेलअघि १४ अंक छ। दिल्ली शनिबार पराजित भएसँगै पञ्जावसँग रनरेटमा पछि पार्दै तेस्रो स्थानमा झरेको छ।
शनिबार खराब ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन मात्र जोड्न सक्यो।
दिल्लीका लागि कप्तान श्रेयस इयरले सबैभन्दा बढी २५ रन जोडे। रिशव पन्तले २१ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
दिल्लीको इनिङ ध्वस्त पार्न ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले ३-३ विकेट लिए। बोल्टले चार ओभरमा २१ रन र बुमराहले ४ ओभरमा १७ रन मात्र दिए।
मुम्बईले १११ रनको झिनो लक्ष्य १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
मुम्बईको जितमा इशान किसनले नटआउट ७२ रन र सूर्यकुमार यादवले नटआउट १२ रन जोडे। क्वान्टन डी कक २६ रनमा आउट भए।