नेपाल क्रिकेट संघ (क्यान) ले गत असारमा चार वटा समितिलाई पूर्णता दिएको थियो।
समितिले पूर्णता पाएसँगै क्यानको काम विकेन्द्रित हुने र सम्बन्धित क्षेत्रका विज्ञको क्षमताले क्यान चल्ने ठानिएको थियो।
तर क्यानको शैली परिवर्तन हुन सकेको छैन। केन्द्रीकृत तवरबाट क्यान सञ्चालन भइरहेको छ। जसको पछिल्लो उदाहरण हो- प्राविधिक समितिसँग सल्लाह नै नगरी बन्द प्रशिक्षणमा खेलाडी थप गर्नु।
बन्द प्रशिक्षणमा खेलाडी बोलाउने विषय प्राविधिक समितिको क्षेत्राधिकार हो। प्रणालीअनुसार क्यान चल्ने हो भने प्राविधिक समितिको सल्लाह पछि मात्र बन्द प्रशिक्षणमा खेलाडी बोलाइन्छ।
तर प्राविधिक समितिलाई थाहै नदिइ अहिले भइरहेको बन्द प्रशिक्षणमा पाँच जना खेलाडी थप गरिएको छ।
बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको कोराना भाइरसको पिसिआर परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेललाई संक्रमण भएको पुष्टि भएको थियो।
त्यसको केही घन्टापछि नै क्यानले बन्द प्रशिक्षणमा पाँच जना खेलाडी थप गरेको जानकारी दिएको थियो। जसमा विक्रम शोब, अनिलकुमार साह, कुशल भुर्तेल, रित गौतम र लोकेश बम छन्।
क्यानको प्राविधिक समितिका संयोजक संजयराज सिंह आफूलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा खेलाडी थप गरिएको विषयमा कुनै जानकारी नभएको बताउँछन्।
यसविषयमा थप बुझ्न खोज्दा उनले अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई थाहा हुने भन्दै पन्छिए।
एक केन्द्रीय पदाधिकारी भने पुरानै ढर्रामा क्यान चल्न खोजेको आरोप लगाउँछन्।
'बन्द प्रशिक्षणमा थप खेलाडी बोलाउने विषय राम्रो हो। तर सिस्टमबाट क्यान चल्नु पर्छ भन्ने मेरो भनाइ हो। अध्यक्ष र प्रशिक्षकलाई मन लाग्दैमा खेलाडी बोलाउनु समग्र खेलाडीकै लागि पनि राम्रो होइन,' उनले असन्तुष्टि पोखे।