ग्लेन फिलिप्सले टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी शतक प्रहार गरेको खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको छ।
आइतबार विहान भएको खेलमा घरेलु टिम न्युजिल्यान्डले वेस्ट इन्डिजमाथि दोस्रो टी-२० खेलमा ७२ रनको फराकिलो जित हात पारेको छ।
यसअघि पहिलो खेलमा पनि विजयी भएको न्युजिल्यान्डले तीन खेलको टी–२० सिरिजमा २-० को अग्रता लिएको छ भने एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ।
आइतबार पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले फिलिप्सको कीर्तिमानी शतकमा ३ विकेटको क्षतिमा २३८ रनको विशाल योगफल खडा गर्यो।
न्युजिल्यान्डका लागि फिलिप्सले ५१ बलमा १०८ रन जोडे। उनले १० चौका र ८ छक्का हिर्काए। ४६ बलमा शतक पूरा गरेका उनी न्युजिल्यान्डका लागि टी–२० मा छिटो शतक पूरा गर्ने खेलाडी बने।
फिलिप्सलाई डेभन कोनवेले नटआउट ६५ रन जोड्दै दरिलो साथ दिए। फिलिप्स र कोनवेबीच तेस्रो विकेटका लागि १८३ रनको कीर्तिमानी साझेदारी भएको थियो।
२३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेटको क्षतिमा १६६ रन मात्र जोड्न सक्यो।
वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले सबैभन्दा बढी २८ रन जोडेका थिए।
बलिङमा न्युजिल्यान्डका केल जेमीसन र मिचेल सान्टनरले २–२ विकेट लिए।