कोरोना भाइरसका कारण ठप्प भएको क्रिकेट गतिविधिले बिस्तारै गति लिन थालेको छ। गत चैतदेखि ठप्प भएका घरेलु प्रतिस्पर्धा अब भने सञ्चालन हुने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुस दोस्रो साता प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएपछि अहिले जिल्ला जिल्लामा क्रिकेट गतिविधि बढ्न थलेका छन्।
यस्तै क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण गत सातादेखि सुरु गरेसँगै क्रिकेट गतिविधिमा भएको तरलता हटेको थियो।
क्यानले आगामी पुस ११ गतेदेखि काठमाडौंमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ।
त्यसका लागि क्यानले आफू आबद्ध ३९ वटा जिल्लामा छनोट गर्नका लागि पत्राचार गरेको छ।
क्यानका अनुसार मंसिर २१ सम्म जिल्ला छनोट गरिसक्नु पर्नेछ। अहिले सम्बन्धित जिल्लाहरुले छनोटका लागि धमाधम सूचना प्रकासित गरिरहेका छन्।
जिल्ला छनोट सकिएपछि प्रदेश छनोट सञ्चालन गरिनेछ। प्रदेश छनोट आगामी पुस ७ गतेभित्र गरिसक्न क्यानले भनेको छ।
जिल्ला र प्रदेश छनोट भएपछि प्रदेश टिम घोषणा गरिनेछ। प्रधानमन्त्री कपमा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ।
ता आगामी पुस ११ गतेदेखि नै दाङको लमहीमा प्रधामन्त्री कप महिला प्रतियोगिता हुनेछ।
यसका लागि क्यानले २३ जिल्लामा छनोट गर्न पत्राचार गरेको छ। महिला छनोट पनि मंसिर २१ गते भित्र गरिनेछ।
त्यसपछि पुस ७ सम्म प्रदेश छनोट सञ्चालन हुनेछ। त्यसपछि प्रदेश टिमबीच प्रधानमन्त्री कपमा प्रतिस्पर्धा हुनेछ।