दक्षिण अफ्रिका विरुद्धको तीन टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्याण्डले क्लिनस्वीप गरेको छ।
सिरिज अन्तर्गत मंगलबार राति केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै इंग्ल्याण्डद्वारा तीन वटै खेल आफ्नो पक्षमा पारेको हो।
दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य इंग्ल्याण्डले १४ बल अगावै मात्र १ विकेट गुमाएर पुरा गर्यो। इंग्ल्याण्डको जितमा डेविड मलानले विस्फोटक ब्याटिङ गर्दै ९९ रन बनाए। उनले अविजित रहँदै ४७ बलमा पाँच छक्का र ११ चौकाको मद्दतमा ९९ रन बनाएका हुन्।
यस्तै जोस बटलरले अविजित ६७ रन बनाउँदा जासन रोयले १६ रन जोडे। दक्षिण अफ्रिकाका एनरिक नोर्जेले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले फाफ डुप्लेसिस र भान डर डुसेनको अविजित अर्धशतकीय पारीमा निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १ सय ९१ रन जोडेको थियो।
डुसेनले सर्वाधिक ७४ रन बनाउने क्रममा ३२ बलमा समान ५-५ छक्का र चौका प्रहार गरे। डुप्लेसिसले ३७ बल खेल्दै ३ छक्का र ५ चौकासहित ५२ रन बनाए। यस्तै टेम्बा बभुमाले ३२ रन बनाउँदा क्वेन्टन डिकक १७ र रिजा हेन्डरिकले १३ रन जोडे।
इंग्ल्याण्डका बेन स्टोक्सले दुई तथा क्रिस जोर्डनले १ विकेट लिए।
यसअघि सिरिजको पहिलो खेलमा इंग्ल्याण्ड पाँच तथा दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो।
यी दुई टोली बीचको तीन खेलको एकदिवसीय सिरिज शुक्रबारदेखि सुरू हुनेछ।