अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा भारतले सान्त्वना जित हात पारेको छ। बुधबार भएको तेस्रो खेलमा भारतले घरेलु टिम अस्ट्रेलियालाई १३ रनले पराजित गरेको हो।
यसअघि अस्ट्रेलियाले पहिलो खेलमा ६६ रन र दोस्रो खेलमा ५१ रनको जित निकाल्दै सिरिज कब्जा गरेको थियो।
३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३ बल खेल्न बाँकी छदा २८९ रनमा अलआउट भयो।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ५९ रन जोडे। उनले ३८ बलमा ३ चौका र ४ छक्का हिर्काए। अस्टन अगारले २८ रन जोड्दा एलेक्स क्यारी ३८ रनमा रनआउट भए। कप्तान आरोन फिन्च ८२ बलमा ७५ रन जोडेर आउट भए।
बलिङमा भारतका शार्दूल ठाकुरले ३ विकेट लिए भने टि नटराजनले २ विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३०२ रन जोड्यो।
भारतका लागि हार्दिक पाण्ड्याले नटआउट ९२ रन जोडे। उनले ७६ बलमा ७ चौका र १ छक्का हिर्काए। रवीन्द्र जडेजाले नटआउट ६६ रन जोडे। उनले ५० बलमा ५ चौका र ३ छक्का हिर्काए। त्यसअघि कप्तान विराट कोहलीले ६३ रन र शुभमान गिलले ३३ रन जोडे।
बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए।
भारतीय टिम तीन खेलको एकदिवसीय सिरिज, तीन खेलको टी–२० सिरिज र दुई खेलको टेस्ट सिरिज खेल्न अस्ट्रेलिया भ्रमणमा छ।