नेपालका लेगस्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन्।
यो वर्ष हुने छैटौं संस्करणको प्रतियोगिताका लागि पिएसएलले मंगलबार सन्दीपसहित २५ जना विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ।
पिएसएलको ड्राफ्ट आगामी जनावरी १० मा लाहोरमा हुँदैछ। सो ड्राफ्टमार्फत ६ टिमले खेलाडी भित्र्याउनेछन्।
प्लाटिनम श्रेणीको मूल्य न्यूनतम १ लाख ४७ हजार अमेरिकी डलर (१ करोड ७२ लाख रुपैयाँ) देखि अधिकतम २ लाख १८ हजार अमेरिकी डलर (२ करोड ५५ लाख रुपैयाँ) तोकिएको छ।
ड्राफ्टअघि सबै टिमले अधिकतम ८ खेलाडी रिटेन गर्न पाउनेछन्। बाँक खेलाडी ड्राफ्टबाट लिनु पर्नेछ। २०२१ को पिएसएल मार्चमा हुने बताइएको छ।
पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका सन्दीपसँगै आइसिसी टी-२० प्लेयर अफ दि डिकेड घोषित भएका आफगानिस्तानका रासिद खान, डेभिड मिल्लर, क्रिस गेल लगायतका खेलाडी छन्।
एक टिमले तीन जना खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउनेछ। यस्तै डाइमन्डबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई जना खेलाडी राख्न पाउनेछ।
गत सिजन सन्दीपसहित नेपालका ७ खेलाडी पिएसएलको ड्राफ्टमा परे पनि छनोट हुन असफल भएका थिए।
सन्दीपले २०१९ मा भने लाहोरमा अनुबन्धन भएर पिएसएल खेलेका थिए।