अस्ट्रेलियाको बिग बास लिगमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध होबार्ट हुरिकेन्स लगातार दोस्रो खेलमा पराजित भएको छ।
होबार्टलाई बिहीबार पर्थमा भएको खेलमा सिड्नी थन्डरले ३९ रनले पराजित गरेको हो। अघिल्लो खेलमा होबार्टलाई मेलवर्न स्टार्सले पराजित गरेको थियो।
बिहीबार सिड्नीले दिएको १६८ रनको लक्ष्य पछ्याएको होबार्टले ८ विकेटको क्षतिमा १२८ रन मात्र जोड्न सक्यो।
होबार्टका लागि कप्तान पिटर ह्यान्ड्सकमले सबैभन्दा बढी ३० रन जोडे।
बलिङमा सिड्नीका नाथान म्याकएन्ड्रियु, क्रिस ग्रिन र तनवीर साङ्गाले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले ५ विकेटको क्षतिमा १६७ रन जोड्यो। उसका लागि उस्मान खवाजाले ४९ रन जोडे। उनले ३३ बलमा ६ चौका हिर्काए।
एलेक्स रोसले नटआउट ४४ रनको योगदान दिए। उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। बेन कटिङले १४ बलमा नटआउट ३१ रनको योगदान दिए।
बलिङमा डिआर्ची सर्टले ३ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट हात पारे। सर्टले ४ ओभरमा २६ रन खर्चिदा सन्दीपले ४ ओभरमै २३ रन दिए।
अंक तालिकामा होबार्ट ९ खेलबाट १९ अंक जोड्दै तेस्रो स्थानमा छ। शीर्ष स्थानको सिड्नी थन्डरको ८ खेलबाट २२ अंक छ।