दुवै मिर्गौला फेल भएका क्रिकेटर कुन्दन सिंहको आइतबार बिहान निधन भएको छ।
प्रदेश २ को तर्फबाट राष्ट्रियस्तरको यु-१९ क्रिकेट प्रतियोगिता खेलेका कुन्दनको निधन भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिए।
२४ वर्षीय कुन्दन विगत लामो समयदेखि मिर्गौलाको उपचार गराउँदै आएका थिए।
महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मिर्गौला फेर्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए।
आर्थिक अभावका कारण उनको मिर्गौला प्रत्यारोपण हुन सकेको थिएन। उनले डायलायसिस गराइरहेका थिए।
कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट संघ धनुषाको अगुवाइमा जनकपुरमा 'कुन्दन बचाउ अभियान' चलाएर युवाहरूले करिब ७ लाख रुपैयाँ संकलन गरि कुन्दनको उपचारमा सहयोग पुर्याएका थिए।
कुन्दनको निधनले जिल्ला क्रिकेटमा क्षति पुगेको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले बताए।
यता नेपाल क्रिकेट संघ (क्यान) ले श्रद्धान्जलि व्यक्त गरेको छ।