काठमाडौं मेयर कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं मेयर ११ टिम घोषणा गरेको छ।
आगामी फागुन २२ देखि कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा सञ्चालन हुने कपका लागि काठमाडौं महानगरपालिकाको प्रतिनिधित्व गर्ने काठमाडौं मेयर ११ टिम घोषणा गरिएको हो।
टिममा प्रदेश एकका कप्तान सिद्धान्त लोहनीसहित हरिशंकर साह, विवेक यादव, विपिन खत्री, अर्जुन कुमाल, कृष्ण कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल, सन्दीप रजाली, अनुज चुनरा, विपिन रावल, रवीन्द्रजंग शाही, खडगबहादुर बोहरा र नारायण जोशी छन्।
क्यानले प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा प्रदेश एक, दुई, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट उत्कृष्ट खेलेका खेलाडीलाई समेटेर काठमाडौं मेयर ११ टिम घोषणा गरिएको हो।
क्यानको आयोजनामा हुने प्रतियोगिता फागुन २९ सम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा गत महिना भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिम र प्रदेशका खेलाडी सम्मिलित अर्को एक टिम गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
जसमा उपाधि विजेता त्रिभुवन आर्मी क्लबसहित फाइनल पुगेको नेपाल एपिएफ क्लब तथा सेमिफाइनलमा पुगेका नेपाल पुलिस क्लब र बागमती प्रदेश सहभागी हुनेछन्। पाँचौ टिम काठमाडौं मेयर ११ रहेको छ।
क्यानले प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुने तथा शीर्ष दुई टिमबीच फाइनल हुने जनाएको छ।
प्रतियोगिता सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ प्रदान गरेको थियो।