काठमाडौं मेयर्स कपमा कप्तान सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गरेपछि काठमाडौं मेयर्सले बागमती प्रदेशलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
मुलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको काठमाडौं मेयर्सले ५० ओभरमा ९ विकेटको क्षतिमा २४४ रन जोड्यो।
उसका लागि कप्तानको जिम्मेवारीमा रहेका सन्दीपले ४२ रनको योगदान दिए। उनले २० बलमा ६ छक्का हिर्काए।
यस्तै सन्दीप रजालीले ३३ रन बटुले भने सिद्धान्त लोहनीले ३४ रनको योगदान गरे। सौरभ खनालले नटआउट ४९ रन जोडे भने बिपिन खत्रीले ३२ रन बटुले।
त्यसअघि खराब सुरुवात गरेको काठमाडौंले १३ ओभर चल्दा ४ विकेट गुमाएको थियो भने केवल ३७ रन जोडेको थियो।
बलिङमा बागमतीका नन्दन यादवले ४ विकेट लिए। रामनरेश गिरी र आरियो पौडेलले २-२ विकेट लिए।
२४५ रनको लक्ष्य पछ्याएको बागमती ३४.३ ओभरमा १५० रनमा अलआउट भयो। बागमतीका लागि पृथु बास्कोटाले ६० रनको योगदान दिए। त्यसअघि कप्तान ज्ञानेन्द्र मल्ल १७ रन, अदिल खान १५ रन, पारस खड्का १० रन र इशान पाण्डे १७ रनमा आउट भए।
बलिङमा काठमाडौं मेयर्सका सन्दीपले ३ विकेट लिँदा बिपिन खत्री र अनिल खरेलले २-२ विकेट हात पारे। सन्दीप प्लेयर अफ दि म्याच भए।