शहीद स्मारक ए डिभिजन लिगमा च्यासल र मच्छिन्द्र क्लवले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा अधिकांश समय बल नियन्त्रणमा लिए पनि च्यासलले गोल गर्न सकेन। मछिन्द्रका गोलरक्षक दीप कार्कीले उत्कृष्ट प्रदर्शनले पाएको पेनाल्टीमासमेत गोल गर्न नसक्दा राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरको टोली अंक बाँड्न बाध्य भयो । प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औं मिनेटमा च्यासलले गोलको सुन्दर मौका पाए पनि सफल हुन सकेन।
च्यासलले ३५ औं मिनेटमा अर्को अवसर पाएको थियो । तर, विश्व अधिकारीले पेनाल्टी एरियाबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो। ६५ औं मिनेटमा च्यासलले अर्को मौका पाएपनि उसका स्ट्राइकर सफल भएनन् । ७५औं मिनेटमा मछिन्द्रका डिफेण्डरले स्ट्राइकर बिमल घर्तीमगरलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा च्यासलका हेमन्त थापामगर चुके। उनको प्रहार मछिन्द्रका गोलरक्षक दीप कार्कीले रोकेका थिए।
त्यसयता गोल हुन सकेन । लिगमा बिहीबार दुई खेल हुनेछन् । बिहान ११ बजे हुने पहिलो खेल फ्रेन्ड्स क्लव र थ्रीस्टार तथा दिउँसो तीन बजे जाउलाखेल र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।