सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० गोलले पराजित गर्दै पहिलो पटक सहभागिता जनाएको क्यामरुनको डफिन्स क्लब परिवारले मनकामना केबलकार पोखरा कपको उपाधि जितेको छ। विजेता टिमले सात लाख ५५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र जित्न सफल भयो भने उपविजेताले नगद चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो।
पोखरा कपको छैटौं संस्करण मनकामना केबलकार पोखरा कपको उपाधि उचाल्न क्यामरुनले ५४ औं मिनेटमा निर्णायक गोल गर्यो। यान्निकले डिबक्सभित्र पाएको पासलाई डिफेन्सलाई विट गर्दै गोल गरेपछि उपाधि पक्का हुँदा एपिएफले उपविजेतमै चित्त बुझाएर आइतबार पोखराको मैदानबाट बिदाई लियो।
खेलमा म्यान अफ दि म्याचको उपाधि यान्निकले जिते।
कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित पोखरा कपको छैटौं संस्करण मनकामना केवबलकार पोखरा कपमा पोखराको फुटबल विकासमा योगदान दिएको भन्दै पोखराका उत्तम गुरुङलाई स्कुटर प्रदान गरिएको छ।
फुटबल संघले प्रदान गर्ने पत्रकारिता पुरस्कार फोटो पत्रकार उमेश पुनलाई प्रदान गरेको छ।
एपिएफका गोलकिपर राजु नगरकोटीले उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भए। उनले पुरस्कार स्वरुप यमाहाको मोटरसाइकल प्राप्त गरे। उत्कृष्ट डिफेन्स एपिएफकै रमेश दंगाल घोषित भए। उत्कृष्ट मिडफिल्डको पुरस्कार भने मनाङ मस्र्याङ्दीका हेमन्त गुरुङले पाए।
उत्कृष्ट स्ट्राइकरको पुरस्कार क्यामरुनका यान्निकले जिते। उत्कृष्ट प्रशिक्षक भने एपिएफका प्रशिक्षक राजेन्द्र तामाङ घोषित भएका छन्।
उत्कृष्ट पाँच विधा वेष्ट फरवार्ड, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट गोलकिपर र वेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो। विजेता तथा उपविजेता खेलाडीहरूलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।