फ्रेन्च फुटबल लिग वान अन्तरगत आइतबार राती सम्पन्न खेलमा लिगको दोश्रो स्थानमा रहेको लिलेले पहिलो स्थानमा रहेको पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई ५-१ को हार चखाएको छ।
हिजोको खेलमा लिलेले आत्मघाती गोलबाट अग्रता बनाएको थियो।
खेलको ७ औं मिनेटमा पीएसजीका थोमस म्युनियरले आत्मघाती गोल गरेका थिए। उनले छेकाको प्रहार रोक्न खोज्दा डिफ्क्लेटबाट गोल भएको थियो ।
आत्मघाती गोलबाट पछि परेको पिएसजीका लागि ११ औं मिनेटमा जुवान बर्नाटले बराबरी गोल फर्काएका थिए। तर ३६ औं मिनेटमा उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
यसरी १० खेलाडीमा सिमित हुन पुगेको पिएसजीले दोश्रो हाफमा ४ गोल खाँदै नतिजा सुम्पियो। पिएसजीलाई ५-१ ले पराजित गर्ने क्रममा खेलको ५२ औं मिनेटमा निकोलस पेपेले गोल गरे भने ६५ औं मिनेटमा जोनाथन वाम्वाले टोलीका लागि तेश्रो गोल गरेका थिए।
यो सिलसिला यसमै रोकिएन त्यसपछि लेलेले क्रमशः ७२ औं र ८४ औं मिनेटमा गोल गर्यो। उसका लागि ती दुई गोल क्रमशः ग्राब्रियल तथा जोसे फोन्टेले गरेका थिए।
हिजोको हारसँगै लिग वानको विजेता बन्ने पिएसजीको सपना अर्को खेलसम्मा लागि सरेको छ। मात्र एक खेल जितेमा पिएसजी यस सिजनको लिग विजेता बन्ने छ।
३१ खेल खेलेको पिएसजीको ८१ अंक रहेको छ भने ऊ भन्दा एक खेल बढि खेलेको लिलेको ६४ अंक रहेको छ।