आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ ले महिला फुटबलमा दोस्रो जित हासिल छ।
दाङको घोराहीमा बुधबारदेखि सुरू भएको आठौं राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा प्रदेश नं. ५ लाई १ विरूद्ध ३ गोल गर्दै प्रदेश नं. २ विजयी भएको हो।
दाङको घोराहीको भरतपुर खेलकुद मैदानमा बिहीवार बिहान भएको प्रतियोगितामा प्रदेश नं. २ को जितका लागि ३ जना खेलाडीले समान १–१ गोल गरेका थिए।
प्रदेश नं. २ को जितका लागि जर्सी नं. ११ की रजनी ठोकरले १ गोल, जर्सी नं. ५ की सजनी ठोकरले १ गोल र जर्सी नं. ७ की दिलकुमारी रानाले १ गोल गरेकी थिइन्।
प्रदेश नं. ५ का तर्फबाट जर्सी नं. १० की खेलाडी ममता पुनले मात्रै १ गोल गरिन्। बिहीवारको दोस्रो खेल प्रदेश नं. ३ र सुदूरपश्चिम प्रदेशका बीच दिउँसो ३ बजे बेलुझुण्डी रंगशालामा हुने जानकारी दिइएको छ।
११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली समेत गरी दस वटा समूह फुटबलको उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतियोगिता अन्तर्गतका दाङ र कपिलवस्तुमा लिग अन्तर्गतका खेलहरू भइरहेका छन्।
दाङमा प्रदेश नं. २, प्रदेश नं. ३, प्रदेश नं. ५, नेपाल प्रहरीको महिला फुटबल टिम, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका महिला फुटबल टिमहरू बीचमा खेलहरू हुने दाङ जिल्ला फुटबल विकास समितिका अध्यक्ष सुशिल श्रेष्ठले जानकारी दिए।